काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने आज असार १५ गते दिन रहेको छ। 

कम्पनीले गत असार १ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँका दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्री खुला गर्ने अनुमति पाएको हो। 

कुल कित्तामध्ये पहिलो चरणमा कम्पनीले १० प्रतिशतले हुन आउने १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको गरिएको छ। उनीहरुले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

सीडीएससीका अनुसार हिजो असार १४ गते साँझसम्म यो आईपीओमा २० हजार ३५१ आवेदकबाट १६ लाख ७६ हजार ४३० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.३९ गुणाले बढी हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि भने असार २० गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। जसमा कम्पनीले ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ। बाँकी रहेको ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

सर्वसाधारणका लागि जारी हुने आईपीओ भने निष्कासन बन्द भने छिटोमा असार २४ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुनेछ।

आइएमई लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ।