काठमाण्डौ । गत वैशाखयता दुई विकास बैंकसहित चार कम्पनीले हकप्रद निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।

गत वैशाखमा एउटा, जेठमा दुईवटा र असारको पहिलो साता एउटा गरी चार कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन्। यसरी हकप्रद निष्कासनको अनुमति माग्नेमा नारायणी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, शिखर इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावर छन्।

नारायणीले सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। जसअनुसार यो बैंकले कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद निष्कासनको तयारी गरेको छ। हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी एक्सेलले ३० प्रतिशत अर्थात १०ः३ अनुपातमा हकप्रद निष्कासन गर्ने तयारी गरेको छ। यो बैंकले कुल २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद निष्कासन गर्न एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ। 

शिखर इन्स्योरेन्सले १०ः३ को अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। जसअनुसार यो कम्पनीले कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद निष्कासन गर्नेछ। हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल नै रहेको छ। 

यसैगरी छ्याङ्दी हाइड्रोपावरले कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको छ। यो पनि ३० प्रतिशत नै हो। ग्लोबल आईएमई क्यापिटललाई कम्पनीले हकप्रद बिक्री प्रबन्धक तोकेको छ।