काठमाण्डौ । सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी गरेको छ । 

‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको अध्यक्षतामा निर्देशक समिति बनेको छ । अर्थ मन्त्रालयमा बसेको निर्देशक समितिको पहिलो बैठकले तेस्रो लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।

सो समितिमा उद्योग, भौतिक पूर्वाधार, पर्यटन, ऊर्जा र सहरी विकासमन्त्रीका साथै नेपाल राष्ट्र बैंकका गभर्नरलगायतका सदस्य छन् । स्वदेशी, गैरआवासीय नेपाली र विदेशी लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागिएको मन्त्रालये जानकारी दिएको छ ।

निर्देशक समितिमा परराष्ट्र, जलस्रोत तथा सिंचाइ, भौतिकलगायतका संस्कृति, पर्यटन तथा नागरिक उड्यन, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, सहरी विकासलगायतका मन्त्रालयका मन्त्रीहरू, राष्ट्रिय योजना आयोग उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, निजी क्षेत्रका तीनवटा संस्थाका अध्यक्षहरु सदस्य छन्।  

नेपालले यसअघि  सन् २०१७ र सन् २०१९ मा लगानी सम्मेलन गरेको थियो ।