काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ व्यापारिक लाइन्सेन्स वितरणका लागि थालेको प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ। 

उक्त मुद्दाको सुनुवाइ आज पूरा नभएपछि हेर्दाहेर्दैमा राखिएको हो। अब भोलि यो मुद्दामा फेरि सुनुवाइ हुनेछ। 

अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सेबोनले थालेको नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स वितरण प्रक्रिया रोक्न सर्वोच्च अदालतमा रिट दिएका थिए। उनले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएको छ।   

सोही रिटउपर सुनुवाइ गर्न आज पेसी तोकिएको थियो। तर दिनभर भएको सुनुवाइ टुंगोमा नपुगेपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। 

आज न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासमा यो मुद्दामाथि सुनुवाइ भएको थियो। 

यसअघि संवैधानिक इजलासमा अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकरको लाइसेन्स बितरणका लागि गरिएको नियमावली संशोधन संविधानबमोजिम नभएको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिसकेको छ।