काठमाण्डौ । मुलुकको व्यापार घाटा १८.७१ प्रतिशतले घटेको छ। 

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिसम्म मुलुकको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो व्यापार घाटा १० खर्ब १५ अर्ब रुपैयाँ पुगेको थियो। 

यो साता महिनाको अवधिसम्म वस्तु आयात अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १९.९० प्रतिशतले घटेको छ। समीक्षा अवधिसम्म कुल ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको वस्तु आयात भएको छ।

यसैगरी समीक्षा अवधिसम्म कुल ९३ अर्ब ४३ करोड रुपैयाँको वस्तुमात्रै निर्यात भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको थियो। निर्णयत भने २९ प्रतिशतले घटेको छ।

यो अवधिमा नेपालले १५३ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ। सबैभन्दा धेरै व्यापार भारतसँग भएको देखिन्छ। भारतसँग ५ खर्ब ७० अर्ब रुपैयाँको आयात र ६६ अर्ब २२ करोड रुपैयाँको निर्यात भएको छ। 

यसैगरी नेपालले चीनसँग १ खर्ब २५ अर्ब रुपैयाँको वस्तु आयात गर्दा ४२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ।