काठमाण्डौ । नेपाल-चीनबीच थप व्यापारिक नाका सञ्चालनमा ल्याउन दुई देशबीच भएको सहमतिअन्तर्गत सोमबारबाट कोरला नाका सञ्चालनमा आएको छ ।

मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका व्यावसायिक रूपमा खुला भएको हो । २०७६ चैतदेखि ठप्प रहेको उक्त नाका खुलेको हो ।

मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भमा पर्ने उक्त नाका खुलेपछि स्थानीय नागरिकहरूले खुसी मनाएका छन् ।जसमध्ये कतिपय सीमा पार पास देखाएर चीनतर्फ गएका छन् ।

कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका छन् । नाका उद्घाटनको औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) झोम्बा काउन्टीका सेक्रेटरीसमेत सुरक्षा अधिकारी तथा नेपालतर्फबाट भने लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिका अध्यक्ष, सुरक्षा अधिकारी सहभागी थिए ।

व्यावसायिक रूपमा नाका खुला भएसँगै तिब्बतको झोम्बा काउन्टीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकाबासीलाई उपहारस्वरूपतिब्बती नुन, चिया,घ्यू, कम्बल र सिरकसमेत सामग्री पठाएको बताइएको छ । यो नाकाबाट खासगरी पीठो, खुर्सानी, बिजुलीका सामान, पेय पदार्थ लगायतको कारोबार हुन्छ । चाडबाडको समयमा भेडा च्याङ्ग्रा पनि आयात निर्यात गरिन्छ ।

कोरोला नाकामा चीनले सूचानाप्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पार्किङ र सुरक्षा पूर्वाधार निर्माण गरिसकेको छ ।नेपालपट्टि भने चीनको सहयोगमा हालै नेपाली सुरक्षाकर्मीहरूका लागि अस्थायी आवास बनाइएको छ । भन्सार कार्यालय भने १२ किलोमिटर तल नेचुङमै रहने छ । 

कोरोला नाका व्यावसायिक रूपमा खुला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचयपत्रका आधारमा तिब्बततर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन छुट पाउने छन् । 

नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका हो । पहिलो पटक पूर्ण रूपमा सञ्चालनमा आएको यो नाका वर्षभरि सञ्चालनमा ल्याउन भने कठिन रहेको स्थानीय अधिकारीहरू बताउँछन्।

नेपालतर्फ स्थायी संरचना र कोरलासम्मको सडक पूर्वाधार राम्रो नभएकाले यसतर्फ ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।