काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आज आवेदन दिने म्याद थप गरिएको सूचना प्रकाशित गरिएको छ। 

प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको तोकिएको ४ दिनको अवधिमा ओभरसब्सक्राइब्ड हुनु र फेरि कम्पनीले सूचना प्रकाशित गरी म्याद थप्नुलाई शंकास्पद दृष्टिकोणले हेरिएको छ। 

घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्कासन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो। तर, यथोचित संख्यामा आवेदन प्राप्त भए पनि आवेदनहरु प्रमाणित हुने प्रक्रियामा रहेकोले आवेदन दिने म्याद असार १४ गतेसम्म थप गरिएको कम्पनीले जनाएको छ। 

घोराही सिमेन्टले यसरी सूचना प्रकाशित गरी यसो भन्दा यो आईपीओमा सर्वसाधारण लगानीकर्ताले यसअघि नै गर्दै आएको शंका झनै बढाएको छ। ‘एकातिर यो कम्पनीको आईपीओ ओभरसब्सक्राइब्ड भइसकेको छ। यसो हुँदा त कम्पनीले गर्वका साथ हाम्रो आईपीओ तोकिएको समयभित्रै ओभरसब्सक्राइब्ड भयो भन्नुपर्ने हो तर आज सूचना निकालेर म्याद थपेको छ’, एक बजार जानकारले भने, ‘कम्पनीले म्याद थप्नुले यो आईपीओ साँच्चिकै ओभरसब्क्राइब्ड भएको हो त भन्नेमा शंका उब्जिएको छ। यसमा कतै सोझासाझा लगानीकर्तालाई महँगोमा सेयर भिडाउने जाल त बुनिएको होइन भन्ने आशंका पनि उत्तिकै उब्जिएको छ।’

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँड गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको छ। 

यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ दरका आवेदन दिनुपर्नेछ। जसमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेको छ।

सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियमअनुसार कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ नै रद्द हुन्छ। तर, ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिन्छ। 

घोराही सिमेन्टको आईपीओ भने हिजो साँझसम्म नै करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको छ। यो कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा असार ४ गते र ढिलोमा असार १४ गते बैंकिङ समयपछि हुने भनिएको थियो। यसको अर्थ यदि यो कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा बढीले सब्सक्राइब्ड भएको अवस्थामा मात्रै म्याद लम्ब्याउन पाइन्थ्यो। तर, ओभरसब्क्राइब्ड नै भएको अवस्थामा भने म्याद लम्ब्याउन नपाइने सेबोनले प्रस्ट व्यवस्था गरेको छ। 

सेबोनको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक विनयदेव आचार्य ओभरसब्सक्राइब्ड नै भइसकेको अवस्थामा कुनै पनि कम्पनीको आईपीओमा म्याद लम्ब्याउन नपाइने बताउँछन्। ‘घोराही सिमेन्टको आईपीओको म्याद कुन आधारमा बढाइएको हो त्यो बुझ्नै पर्छ’, उनले बिजशालासँग भने, ‘यसबारेमा सेबोनले स्पष्टीकरण माग्नेछ।’

म्याद लम्ब्याउन सेबोनसँग अनुमति पनि लिनुपर्ने हुन्छ। ‘कुनै कारण देखाएर अनुमति लिएको छ वा छैन, त्यसबारे पनि बुझ्नै पर्छ’, उनले भने, ‘यदि नियम मिचिएको छ भने सेबोनले स्पष्टीकरण सोध्नेछ।’

घोराही सिमेन्टको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन्।