काठमाण्डौ । निरन्तर रुपमा सेयर बजार घटेर थाल खाँउकी भात खाउँको अवस्थामा पुगेका लगानीकर्तालाई भेट्रान लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले बाजरमा आउने आँधी बेहरीसँगै शालिग्राम बन्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो विचार राख्दै पौडेलले भनेका छन्, ‘शेयर बजारले तपाईको धैर्यता परीक्षण गरिरहेको छ । बालुवा बनेर पानीसँगै बग्नेकी शालिग्राम बनेर सधैं रहने त्यो तपाईंकै हातमा छ ।’
उनकै स्टाटसमा लगानीकर्ता महेश रिजालले बजार एकपटक घटेर २९२ सम्म आएको र पुनः ५५० प्रतिशतसम्म बजार बढेको तथ्यांक पेस गर्दै बजार घटेको समयमा लगानीकर्ताहरुलाई धैर्य गर्न ढाडस दिएका छन् ।
पौडेलकै भनाइलाई समर्थन गर्दै अर्का लगानीकर्ता रामकृष्ण खत्रिले पनि शालिग्राम बन्न नै सुझाएका छन् ।
उता सेयर लगानीकर्ता सौरभ कार्कीले भने नेपाल राष्ट्र बैंकले महिनौदेखि मौद्रिक नीति भनेर लगानीकर्ता तर्साएको आरोप लगाएका छन् । तर आकाश चौलागाइले भने उनीप्रति असहमति जनाउँदै आदर्श कुरा एकातिर हुने र यथार्थ अर्कोतर्फ हुने बिचार राखेका छन् ।
पौडेलको भनाइलाई बिष्णु सुबेदी,रोहन कार्कीलगायतका लगानीकताहरुले भने समर्थन गरेका छन् । केहि लगानीकर्ताले भने पौडेलले यसअघि दिएको एक अन्तरवार्तामा बजार पुनः १ हजार ८०० आँउदैन भनेको भनाइप्रति ब्यंग्य पनि गरेका छन् ।
लगानीकर्ता रबिन न्यौपानेले पनि ब्यग्याँत्मक रुपमा पौडेललाई बजार १ हजार ८०० मूनी जाँदैन भन्नेर पुनः भन्न सुझाएका छन् भने दिनेश खत्रीले सेयर बजारको लगानी बालुवामा पानी खन्याए सरह भएको टिप्पणी गरेका छन् ।