काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तनको प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनीले गत चैत ९ गतेसम्म १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।

सोही वार्षिक साधारणसभाको निर्णयलाई कार्यान्वय गर्न कम्पनीले आज एक सूचना प्रकाशित गरी सेयर स्वामित्व परिवर्तनको प्रक्रिया अगाडि बढाएको हो। 

कम्पनीद्वारा प्रकाशित सूचनामा संस्थापक समूहमा रहेका सेयर आफ्नो हक हिस्सामा पर्ने सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने भन्ने कुनै एउटा ढाँचामा निवेदन पेस गर्न संस्थापक सेयरधनीलाई आग्रह गरिएको थियो। आफ्नो हक हिस्सामा पर्ने संस्थापक सेयर सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी स्वःघोषणा गर्ने सेयरधनीहरुको हक हिस्सा बाँकी रहेका संस्थापकहरुले त्यस्तो सेयरको अनुपात उपयोग गर्न सक्ने पनि सूचनामा उल्लेख छ। 

कम्पनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको थापाथलीस्थित कम्पनीको शिखर बिज सेन्टरमा रहेको कार्यालयमा निवेदन पेस गर्न आग्रह गरेको छ। तोकिएको म्यादभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनी नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारण समूहमा परिवर्तन गर्न मन्जुर रहेको ठानी सोहीबमोजिम प्रक्रिया अगाडि बढाइने पनि कम्पनीले स्पष्ट पारेको छ।