– अर्जुन तिमिल्सिना
काठमाण्डौ । शिवम् सिमेन्टको सेयरमा खुलेआम इन्साइडर ट्रेडिङ भएको छ। कम्पनीका प्रमोटरहरुबाट इन्साइडर ट्रेडिङ भएको हो। यसबाट प्रमोटरहरु मालामाल भए पनि सोझा लगानीकर्ताहरु चुर्लुम्म डुबेका छन्।
यो कम्पनीको सेयरभाउ दोस्रो बजारमा पछिल्लो समय उच्च मूल्य १७०० रुपैयाँबाट लगातार घटेर ७०० रुपैयाँभन्दा तल आएको छ। जसका कारण बजारमा नाम चलेकाका साथै सर्वसाधारण लगानीकर्ता पनि फसेका छन्।
शिवम् सिमेन्टको कुल ४ करोड ४० लाख कित्ता सेयर रहेकोमा गत वर्ष लकिङ पिरियड खुलेर ७० प्रतिशत सर्वसाधरणमा र ३० प्रतिशतमात्रै प्रमोटरको कायम भएको थियो। यही अवसरलाई छोपेर कम्पनीका प्रमोटरहरुले लकिङ पिरेड खुलेपछि हुन आउने ७० प्रतिशत सेयर अर्थात ३ कारोड ८ लाख कित्ता दोस्रो बजारमा बेचेर अर्बौंको रुपैयाँ कुम्लाएको बजारमा खुलमखुला चर्चा चलिरहेको छ।
प्रमोटरहरुले कम्पनीले ११ करोड बोरा सिमेन्ट बेचेको भनेर बजारको माहौल तयार गरेका बजार जानकारहरु नै बताउँछन्। ‘धेरै बोरा बेचेर राम्रै नाफा कमाएको, हकप्रद पनि ल्याउने र राम्रो बोनस पनि दिने भनेर हल्ला चलाइएको थियो’, एक बजार जानकारले भने, ‘प्रमोटरहरुले कम्पनीको भित्री सूचना लिएर सेयर सल्टाई त्यसपछि मात्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशनको चाँजोपाजो मिलाएका थिए।’
यसले प्रमोटरले भित्री सूचनामा पहुँच कायम गरी अर्बौं रुपैयाँ कमाउने सफलता भएको ती बजार जानकारी बताए। ‘तर, सर्वसाधारण र सोझाको त्यस्तो पहुँच नहुँदा उनीहरुले अर्बाैं गुमाउने अवस्था बन्यो’, ती बजार जानकारले भने।
अर्का बजार जानकार प्रमोटरले जति सेयर बेचेर बाहिरिए, त्योमध्ये धेरै पैसा विदेसिएको आशंका गरेका छन्। ‘कमजोर अवस्थाका कम्पनीको सेयर सस्तोमा कसरी सर्वसाधारणलाई भिडाइन्छ र रियल सेक्टरका कम्पनीलाई दोस्रो बजारमा भित्र्याउने नाममा कसरी ठूला र पहुँचवालाले लुट मच्चाउँछन् भन्ने विषयको पछिल्लो उदाहरण शिवम सिमेन्ट बनेको छ’, ती जानकारले भने।
बजारमा अहिले तरलता संकुचन भएको र बैंकको ब्याज चर्को रुपमा बढेको बेलामा कम्पनीले ठूलो पैसा पुँजीबजारबाट झिकेर लगेका कारण अहिले सेयर बजार नै थला परेको लगानीकर्ता हरिबहादुर पाठकले आरोप लगाए। ‘यसरी एकैपटक कम्पनीलाई लकिङ पिरियड खोल्न दिएर नियमनकारी निकाय धितोपत्र बोर्डले समेत आँखा चिम्लिने काम गरेको छ’, पाठकले भने, ‘कम्पनीले हकप्रद र उच्च नाफा कमाएको विज्ञापको भरपर्दा पुँजीबजारमा सर्वसाधारण फसेका छन्।’
धितोपत्र बोर्डका एक उच्च अधिकारीले हालसम्म शिवम सिमेन्टमा इन्साइडर ट्रेडिङ भएको उजुरी नपरेको बताउँछन्। ‘इन्साइडर ट्रेडिङका घटना रोक्न सेबोन विभिन्न काम अगाडि बढाइरहेको छ’ ती अधिकारीले भने, ‘हामीले बजारमा देखिने विकृति रोक्न छुट्टै सर्भिलेन्स डिपार्टमेन्ट खोलेका छौँ, त्यही डिपार्टमेन्टले बजारमा भइरहेका गतिविधि नियाल्ने गर्छ।’
शिवममात्रै होइन कुनै पनि कम्पनीको अस्वाभाविक गतिविधि देखिएमा सेबोनले अनुसन्धान प्रक्रिया अगाडि बढाउने ती अधिकारीले बताए।
यस विषयमा शिवम सिमेन्टका प्रवक्ता लेखनाथ अर्याललाई टेलिफोन सम्पर्क गर्न खोजेका थियौँ। तर, कार्यालयका कर्मचारीहरुले विभिन्न बहानामा अर्यालसँग टेलिफोन सम्पर्क गर्न दिएनन्। प्रवक्ताको सीधा सम्पर्क नम्बर माग्दा उनीहरुले दिन मानेनन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19