काठमाण्डौ । शिवम् सिमेन्टले आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा निकै न्यून मात्र आवेदन पर्ने देखिएको छ । 

यो कम्पनीको आइपीओमा आयोजना प्रभावितले आवेदन दिने अन्तिम दिन आज(भदौ ११) गते हो । 

यो कम्पनीले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा भदौ १० गतेसम्म १ लाख ७३ हजार कित्ता खरीदका लागि मात्र आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । यो अवधिसम्म कुल ५ करोड २० लाख रुपैयाँ बराबरको मात्र आवेदन परेको हो । 

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको थियो । 

आवेदन दिने अन्तिम दिनको एकदिनअघिसम्ममा आइपीओमा मुश्किलले २० प्रतिशत मात्र आवेदन परेको देखिएको छ । 

शिवमले साउन १३ गतेदेखि आयोजना प्रभावित मकवानपुर जिल्लाबासीका लागि ८ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको हो । 

कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । 

इच्छुक आयोजना प्रभावितले सीआस्वामार्फत वा तोकिएका संकलन केन्द्रमा  सोझै गएर समेत आइपीओ खरीदका लागि दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ । शिवमले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि समेत आइपीओ निश्कासन गर्ने भएकोले मकवानपुरका बासिन्दाले सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा भने आवेदन दिन पाउने छैनन् । 

शिवमले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ अंकित दरमा ३०० प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ निश्कासनको तयारी गरेको छ । आयोजना प्रभावितले झै सर्वसाधारणले समेत यो सिमेन्ट कम्पनीको महंगो आइपीओलाई पत्याउने अवस्था छैन । 

शिवमले दोश्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित प्रतिकित्ता ४४ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कम्पनीले कुल ५२ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । 

इक्रा नेपालले शिवमको आइपीओलाई ग्रेड थ्रीको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत रहेको भन्ने बुझिन्छ । 

शिवम् सिमेन्ट लिमीटेडले गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९३ करोड ६६ लाख खूद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीको नाफा ८१ करोड ११ लाखमा सीमित थियो । 

तेश्रो त्रैमासमा कम्पनीको संचालन तथा बिक्रीबाट हुने आम्दानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

कम्पनीको हाल चुक्तापूँजी ३ अर्ब ८७ करोड, रिजर्ब २ अर्ब १६ करोड, वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९१ रुपैयाँ रहेको छ । 

आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोडको उचाईमा पुग्नेछ ।