काठमाण्डौ । शिवम् सिमेन्टले आयोजना प्रभावितका लागि निश्कासन गरेको आइपीओमा निकै न्यून आवेदन परेको छ । 

यो कम्पनीले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा भदौ ६ करोड ७ लाख २३ हजार रुपैयाँ बराबरको मात्र आवेदन परेको हो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कुल ९ सय ९५ वटा मात्र आवेदन परेका छन् । 

यो कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३०० रुपैयाँको दरले आइपीओ निश्कासन गरेको थियो । 

कुल निश्कासित आइपीओमध्ये मुश्किलले २३ प्रतिशत मात्र बिक्री भएको छ । 

शिवमले साउन १३ गतेदेखि आयोजना प्रभावित मकवानपुर जिल्लाबासीका लागि ८ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गरेको हो । 

कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

शिवमले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि समेत आइपीओ निश्कासन गर्ने भएकोले मकवानपुरका बासिन्दाले सर्वसाधारणका लागि निश्कासन गरिएको आइपीओमा भने आवेदन दिन पाउने छैनन् । 

शिवमले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १०० रुपैयाँ अंकित दरमा ३०० प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको दरले आइपीओ निश्कासन गर्ने भनिए पनि आयोजना प्रभावितका लागि निश्कासन गरिएको आइपीओ पनि धेरै कित्ता बिक्री नभएपछि अब ती कित्ता समेत जोडेर सर्वसाधारणका लागि आइपीओ निश्कासन गरिने बताइएको छ । तर, आयोजना प्रभावितले झै सर्वसाधारण लगानीकर्ताले ४०० रुपैयाँ मूल्य हालेर आइपीओ खरीद गर्ने संभावना छैन । 

शिवमले दोश्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यसहित प्रतिकित्ता ४४ लाख कित्ता आइपीओ निश्कासन गर्ने योजना बनाएको छ । आयोजना प्रभावित र सर्वसाधारणलाई गरी कम्पनीले कुल ५२ लाख ८० हजार कित्ता आइपीओ निश्कासन गर्ने उसको योजना थियो ।

इक्रा नेपालले शिवमको आइपीओलाई ग्रेड थ्रीको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत रहेको भन्ने बुझिन्छ । 

शिवम् सिमेन्ट लिमीटेडले गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९३ करोड ६६ लाख खूद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षमा भने कम्पनीको नाफा ८१ करोड ११ लाखमा सीमित थियो । 

तेश्रो त्रैमासमा कम्पनीको संचालन तथा बिक्रीबाट हुने आम्दानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो । 

कम्पनीको हाल चुक्तापूँजी ३ अर्ब ८७ करोड, रिजर्ब २ अर्ब १६ करोड, वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९१ रुपैयाँ रहेको छ । 

आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोडको उचाईमा पुग्नेछ ।