काठमाण्डौ । शिवम सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गरेको आइपीओमा पहिलो दिन १८ करोडको हाराहारीमा आवेदन परेको छ । 

यो कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँमा निश्कासन गरेको आइपीओमा पहिलो दिन नै १८ करोडको हाराहारीमा आवेदन परेको हो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार ४ हजार ५८१ आवेदकबाट ५ लाख ८५ हजार ८ सय ९० कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो कम्पनीले सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता आइपीओ निश्कासन गरेको छ । यसरी हेर्दा पहिलो दिन कुल निश्कासित कित्ताको १४.२२ प्रतिशत खरीदका लागि आवेदन परेको छ । बाँकी ८५.७७ प्रतिशत बिक्री हुनुपर्नेछ । 

यो कम्पनीले आयोजना प्रभावित मकवानपुरबासीका लागि प्रतिकित्ता २०० रुपैयाँको दरले ५ लाख ७९ हजार ६४० कित्ता आइपीओ फागुन ६ गते(आज)बाट निश्कासन गरेको छ । आयोजना प्रभाविततर्फ भने ११ आवेदकबाट ९५० कित्ताका लागि मात्र आवेदन परेको छ । तर, यो तथ्यांक फाइनल भने होइन । 

आइपीओमा छिटोमा फागुन ९ गतेभित्र र ढिलोमा चैत ५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

इच्छुकले न्यूनतम ५० कित्तादेखि अधिकतम सबै कित्ता खरीदका लागि आवेदन दिन सक्नेछन् ।

यसको अर्थ कम्पनीको आइपीओमा साथमा रु। १० हजार हुने आयोजना प्रभावितले र १५ हजार हुने सर्वसाधारणले लगानी गर्न सक्नेछन् ।

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘आइपीओ ग्रेड थ्री प्लस’को रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत छ भन्ने देखाउँछ । 

(आइपीओ आवेदन गर्नुअघि शिवम सिमेन्टको वित्तीय स्वास्थ्य जाँच गर्न सक्नुहुन्छ । यहाँ क्लिक गरेर सो सम्बन्धी समाचार पढ्नुहोला ।)