काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले जारी गर्न लागेको २ अर्ब २ करोड ४० लाख मूल्यको आइपीओलाई इक्रा नेपालले आइपीओ ग्रेड थ्री प्लसको रेटिङ प्रदान गरेको छ । 

इक्रा नेपालले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिवम् सिमेन्ट्स लिमीटेडले प्रिमियम मूल्यमा निश्कासन गर्न लागेको आइपीओलाई औसत आधारहरु जनाउने रेटिङ दिइएको  प्रष्ट पारेको छ । यसको अर्थ कम्पनीको अवस्था औसत छ भन्ने हो । 

इक्रा नेपाल लिमिटेडले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ, जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने गे्रड ५ ले कमजोर आधारहरु जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई जनाउँदछ ।

तीन दिनअघि धितोपत्र बोर्डले यो कम्पनीलाई सर्वसाधारणका लागि ४०० रुपैयाँ र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३०० रुपैयाँ प्रतिकित्ता मूल्य पर्ने गरी सेयर निश्कासन गर्ने अनुमति दिएको छ । 

सेयर निश्कासनको अनुमति पाउने यो कम्पनी नै नेपाली पूँजीबजारको पहिलो उत्पादनशील कम्पनी समेत बन्न सफल भएको छ । 

दैनिक ३०० टन उत्पादन क्षमता रहेको शिवम् सिमेन्ट्सले यो अनुमतिसँगै निकट भविष्यमै आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ प्रतिशतले हुन आउने ८,८०,०० कित्ता तथा सर्वसाधारणका लागि १० प्रतिशतले हुन आउने ४४,००,००० कित्ता गरी कुल ५२,८०,००० कित्ता साधारण शेयर निष्काशनका गर्न अनुमति दिएको हो ।

नेपाल सरकारले बजेट मार्फत धितोपत्र बजारमा सूचिकृत हुने उत्पादनशील क्षेत्रका कम्पनीहरुलाई करमा विशेष छुट दिने व्यवस्था गरेको र बोर्डले धितोपत्र दर्ता तथा निश्कासननियमावली २०७३ लागू गरी प्रिमियमसहितको  मूल्यमा सार्वजनिक निश्कासन गर्न सकिने र जारी पूँजीको न्यूनतम १० प्रतिशत मात्र सार्वजनिक निश्कासन गरे पुग्ने लगायतका सुधारहरु गरिसकेको छ ।