काठमाण्डौ । शिवम् होल्डिङ्स लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत लगानी रहेको उक्त कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने १०० रुपैयाँ अंकित दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्बसाधारणका लागि नेपाल धितोपत्र वोर्डको स्वीकृतिमा सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीका सञ्चालक तथा अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा कम्म्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुसार कम्पनीले सर्बसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पूँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ ।

कम्पनीको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोडरुपैयाँमध्ये संस्थापकतर्फ ८० प्रतिशत अर्थात् ४ अर्ब ६४ करोड रुपैयाँ र सर्बसाधारणतर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयरपूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा रहेका व्यक्तिहरुको व्यक्तिगत करिब १५ प्रतिशत लगानी रहेको छ । 

कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफा समेत प्राप्त गरेको छ भने सेयर जारी गरी सर्बसाधारणबाट संकलन हुने प्रिमियम मूल्यसहितको रकम हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, टुरिजम क्षेत्र र इन्फाष्ट्रक्चरका परियोजना तथा अन्य क्षेत्रमा समेत लगानी विस्तार गर्ने योजना रहेको बताएको छ ।