काठमाण्डौ । संभवत नेपालको आइपीओ इतिहासमा सबैभन्दा ‘असफल’ सावित आइपीओ निश्कासनको रेकर्ड बनाएको शिवम सिमेन्टले आयोजना प्रभावितबाट असहयोग भएपछि सो क्रममा बिक्री नभएको कित्तालाई समेत समावेश गरी निकै ठूलो परिमाणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । 

शिवम् सिमेन्टले आयोजना प्रभावितले नकिनेको सेयर समेत समावेश गरी ५० लाख ७९ हजार ७ सय ६० कित्ता आइपीओ दशैंतिहारपछि निश्कासन गर्ने तयारी थालेको हो । 

कम्पनीले साउन १३ गतेदेखि भदौ ११ गतेसम्म आयोजना प्रभावितका लागि ८ लाख ८० हजार आइपीओ निश्कासन गरेको थियो । तर, कुल निश्कासित आइपीओमध्ये मुश्किलले २३ प्रतिशत मात्र बिक्री भएको थियो । 

आयोजना प्रभावितले खरीद नगरेका ६ लाख ७९ हजार ७ सय ६० कित्ता समेत जोडी अब सर्वसाधारणका लागि कुल ५० लाख ७९ हजार ७ सय ६० कित्ता आइपीओ प्रिमियम मूल्यमा निश्कासन गर्न लागेको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २०० रुपैयाँ प्रिमियम थपेर आयोजना प्रभावितलाई आइपीओ निश्कासन गरे पनि यो सर्वाधिक असफल भएको थियो । निकै महङ्गो मूल्यमा निश्कासित आइपीओलाई स्थानीयले अस्वीकार गरेका देखिन्छ । 

प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँ दरको आइपीओ स्थानीयले अस्वीकार गरेकै अवस्थामा कम्पनीले सर्वसाधारणका लागि भने अंकित दरमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता रु.४०० को दरले आइपीओ निश्कासन गर्न लागेको हो । रु. ३०० रुपैयाँमा समेत नबिकेको आइपीओ रु. ४०० मा सर्वसाधारणले खरीद गर्ने संभावना भने निकै न्यून देखिन्छ । 

तथापि, कम्पनीले आफ्नो पूर्व घोषणा अनुसार प्रतिकित्ता रु.४०० को दरले ५० लाख बढी कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासन गर्ने तयारी थालेको हो । 

शिवम सिमेन्टका एक अधिकारीका अनुसार यसका लागि कम्पनीले दशैंअघि नै धितोपत्र बोर्डमा आवेदन दिनेछ । बोर्डका अधिकारीहरुकै सल्लाहमा आइपीओको प्रिमियम मूल्य तोकिएकोले आवेदन दिएको केही दिनमै स्वीकृति पाउनेछ । यसरी तिहारपछि कम्पनीको आइपीओ निश्कासन हुने देखिन्छ । 

इक्रा नेपालले शिवमको आइपीओलाई ग्रेड थ्रीको रेटिङ दिएको छ, यसको अर्थ कम्पनीको अवस्था औसत रहेको भन्ने बुझिन्छ । 

शिवम् सिमेन्ट लिमीटेडले गत आर्थिक वर्षमा भने कम्पनीको नाफा ८१ करोड ११ लाखमा सीमित थियो । 

कम्पनीको हाल चुक्तापूँजी ३ अर्ब ८७ करोड, रिजर्ब २ अर्ब १६ करोड, वार्षिकीकृत प्रतिसेयर आम्दानी ३२.२५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५५.९१ रुपैयाँ रहेको छ । 

आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ४ अर्ब ४० करोडको उचाईमा पुग्नेछ ।

को–को बन्लान् मूर्गा ?
रु. २०० प्रिमियम थपेर निश्कासन भएको आइपीओ समेत सर्वाधिक असफल भई बिक्री नभएको अवस्थामा शिवमले त्यही आइपीओलाई रु.३०० प्रिमियम थपेर प्रतिकित्ता रु.४०० को दरले निश्कासन गर्दा बिक्री हुने संभावना देखिदैन । 

कम्पनीले यो बीचमा लगानीकर्ताको ध्यान तान्न अनेकन फण्डा गर्न सक्छ । लगानीकर्तालाई लोभ्याउने गतिविधि र घोषणा पनि हुन सक्लान् । तर, जे जे भए पनि शिवम्को अहिलेको अवस्थामा प्रतिकित्ता ४०० रुपैयाँ हालेर आइपीओ खरीद गर्नु ‘विपरीत बुद्धि विनाश काले’ साबित हुनेछ ।

यो कम्पनीको आइपीओमा लगानी गर्नुअघि उसलाई आयोजना  प्रभावितले हुर्मत नै लिने गरी किन अस्वीकार गरे ? भन्ने तथ्य लगानीकर्ताले राम्रोसँग केलाउन आवश्यक छ । अंकित दरमै आइपीओ निश्कासन गर्ने कम्पनीहरु अरु पनि छन् र धेरै कम्पनी पाइपलाइनमा छन् । बरु यस्ता कम्पनीको आइपीओमा लगानी गर्नतर्फ लगानीकर्ताको ध्यान जान आवश्यक छ । 

कुनै कम्पनीको कुत्सित मनाशय पूरा गर्नका लागि सर्वसाधारणबाट पैसा उठाउने नियतबाट आउन लागेको आइपीओमा लगानी जसले गर्छ, ऊ मूर्गा बन्ने निश्चित छ । किनभने रु.४०० मा आइपीओ खरीद गरेमा पनि कम्पनीले भविष्यमा चमात्कारिक प्रगति गर्ने कुनै छाँट देखिन्न । नियामकलाई प्रभावमा पारेर सर्वसाधारणको पैसा बटुल्ने उद्देश्यले अत्यन्त महंगोमा निश्कासन हुन लागेको आइपीओमा लगानी गर्नुअघि सबै लगानीकर्ताले राम्रोसँग अध्ययन गर्न आवश्यक छ ।