काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमीटेडले ५२ करोड ८० लाख मूल्य बराबरको ५२ लाख ८० हजार कित्ता साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

यो कम्पनीले चैत ६ गते धितोपत्र बोर्डमा आइपीओ निश्कासनका लागि आवेदन दिएको हो । 

प्रस्तावित कित्तामध्ये ८ लाख ८० हजार कित्ता(२ प्रतिशत) आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी ४४ लाख कित्ता सर्वसाधारणका लागि निश्कासन हुनेछ । 

गत वर्ष धितोपत्र बोर्डले वास्तविक लगायत अन्य क्षेत्रले न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गर्न पाउने कानूनी व्यवस्था गरेको थियो । यही व्यवस्थामा टेकेर प्रिमियम मूल्यमा सेयर निश्कासन गर्ने प्रक्रिया थाल्ने शिवम् देशकै पहिलो सिमेन्ट उद्योग हो ।

कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धको काम सिद्धार्थ क्यापिटल लिमीटेडले गर्नेछ । 

गत माघ २१ गते सम्पन्न कम्पनीको विशेष साधारणसभाले आइपीओ निश्कासनको प्रस्ताव पारित गरेको थियो । सो बेला प्रिमियम मूल्यमा आइपीओ निश्कासनको प्रस्ताव गरिए पनि विशेष साधारणसभाले १०० रुपैयाँ अंकित दरमै निश्कासन गर्नुपर्नेमा जोड दिएको थियो । यहीकारण धितोपत्र बोर्डमा आवेदन दिंदा पनि १०० रुपैयाँ दरमै आइपीओ निश्कासनको प्रस्ताव गरिएको देखिएको छ । 

यो उद्योगले विशेष साधारणसभाबाट ४ अर्ब ३० करोड रुपैयाँमा सीमित जारी पूँजीलाई बढाएर ४० अर्ब ४० करोड रुपैयाँ कायम गरेको थियो । यही संसोधित जारीपूँजीको कुल ४ करोड ४० लाख कित्तामध्ये ५२ लाख ८० हजार कित्ता सेयर आयोजना(उद्योग) प्रभावित क्षेत्र र सर्वसाधारणका लागि निश्कासन गर्ने प्रस्ताव गरिएको हो ।

शिवम सिमेन्टको उत्पादन युनिट मकवानपुरको हेटौडामा रहेको छ । ८ वर्षअघि स्थापित यो उद्योगले आफ्नै चुनढुंगा खानीबाट दैनिक १ हजार २ सय ५० टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । पछिल्लो समय शिवम्ले चीनको होङसी सिमेन्टसँग साझेदारी गरेर उत्पादन क्षमता वृद्धिको अन्तिम तयारीमा छ । यो पूरा भएपछि शिवम्ले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्न थाल्नेछ ।