– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर कारोबार शुक्रबार बन्द गर्नुपर्छ भन्ने आवाज जोडतोडले उठ्न थालेको छ। 

गत जेठमा सरकारले परीक्षणका रुपमा सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक दिने निर्णय लागू गरेको थियो। योसँगै नेपाल स्टक एक्सचेन्जले पनि आइतबार सेयर कारोबार बन्द गरेर शुक्रबार खुला गर्ने निर्णय गरेको थियो। 

सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णयको चर्को आलोचना भएपछि असारबाट पुनः आइतबार बिदा दिने निर्णय खारेज गरेको थियो। तर, नेप्सेले भने पुनः आइतबार सेयर कारोबार गर्नुका साथै शुक्रबार पनि २ घन्टा बजार खुलाउने निर्णय गर्यो। 

नेप्सेको शुक्रबार २ घन्टा बजार खुलाउने निर्णयको अहिले चौतर्फी रुपमा आलोचना भइरहेको छ। केही लगानीकर्ताले नेप्सेमै पुगेर शुक्रबारको कारोबार बन्द गर्न विज्ञप्ति पनि दिएका छन्। सातामा ६ दिन कारोबार हुँदा घट्दो बजारमा बजार झनै घटेको केही लगानीकर्ताको गुनासो पनि सुनिन्छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले शुक्रबार सेयर कारोबार बन्द गर्नुपर्ने बताउँछन्। ‘आगामी आइतबार नै हामीले नेप्सेलाई पत्र लेखेर शुक्रबार कारोबार बन्द गर्न अनुरोध गर्दछौँ’, उनले भने, ‘आउँदो शुक्रबारबाटै सेयर बजार बन्द गराउन हामीले प्रयास गर्नेछौँ।’

विश्वमै कहीँ पनि ६ दिन सेयर कारोबार नभएका कारण नेपालमा पनि सेयर बजार हप्ता ५ दिनमात्रै खुला गर्नुपर्ने ढकालको तर्क छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरे भने प्राविधिक हिसाबले अहिले शुक्रबार बजार खुला गर्न उपयुक्त नै हुने बताउँछन्। ‘पहिला म्यानुअल कारोबार हुँदा कागजी सेटलमेन्टका लागि शुक्रबार बन्द गर्नु उपयुक्त नै थियो’, उनले भने, ‘तर अहिले सबै प्रविधिमैत्री भएका कारण सरकारी कामकागजसरह नै ६ दिन नै बजार खोल्नु उपयुक्त हुन्छ। शुक्रबार कारोबार बन्द गर्नुपर्ने कारण नै छैन।’

ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरहरु लाई जस्तो व्यवस्था गर्दा पनि फरक नपर्ने बताउँछन्। ‘यथार्थमा नीतिगत व्यवस्थामा स्थिरता हुनुपर्छ’, उनले भने, ‘लहडमा नीति ल्याउने र खारेज गर्ने हुनुहुँदैन।’

नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले शुक्रबारको कारोबार बन्द गर्नुपर्ने विषयमा नेप्सेको सञ्चालक समितिमा छलफल भएको बताउँछन्। ‘के गर्ने भनेर निर्णय भएको छैन’, उनले भने, ‘लगानीकर्ताका आधिकारिका संस्थाले अनुरोध गरेमा शुक्रबारको कारोबार बन्द गर्न सकिन्छ।’