काठमाण्डौ । सेयर बजारमा अहिले शुक्रबारको कारोबारलाई लिएर निकै बहस चलिरहेको छ। विश्व बजारमा सेयर कारोबार हप्तामा ५ दिनमात्रै हुने भएकोले नेपालमा ५ दिनमात्रै कारोबार खुलाउनुपर्ने लगानीकर्ताहरुले माग गरिरहेका छन्। 

बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने शुक्रबारको कारोबारका विषयमा स्पष्ट निर्णय लिन सकेको छैन। लगानीकर्ताका संघसंगठनले नेप्सेमै पुगेर शुक्रबारको कारोबार रोक्न ज्ञापनपत्र बुझाइसक्दा पनि नेप्से भने अलमल गरेर बसिरहेको छ। 

गत जेठमा सरकारले परीक्षणका रुपमा हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय लागू गरेको थियो। तर, चौतर्फी आलोचना भएपछि सरकारले पुनः उक्त निर्णय खारेज गर्दै साउनबाट आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको थियो। 

सरकारले जेठमा २ दिन बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि आइतबारको सट्टा शुक्रबार सेयर कारोबार खुलाउने निर्णय गरेको थियो। त्यसअघि शुक्रबार सेयर कारोबार हुँदैन थियो। 

हाल सरकारले आइतबारको बिदा रद्द गरे पनि नेप्से भने आइतबार खुलाउनुका साथै शुक्रबारको कारोबारलाई २ घन्टामा छोट्याउँदै निरन्तरता दिइरहेको छ। नेप्सेको शुक्रबार पनि कारोबार खुलाउने निर्णयको अहिले चौतर्फी रुपमा आलोचना र विरोध भइरहेको छ। तर, नेप्से निर्णयमा पुग्न सकेको छैन। 

केही साताअघि बसेको नेप्से सञ्चालक समितिमा शुक्रबारको कारोबारका विषयमा छलफल भएको थियो। तर, नेपाल धितोपत्र बोर्ड (सेबोन)को मौखिक निर्देशन कहिलेसम्म पालना गर्ने भन्दै सञ्चालकहरुले विरोध गरेपछि शुक्रबारको कारोबारका विषयमा निर्णय हुन सकेन। 

केही दिनअघि नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले बिजशालासँगको कुराकानीमा शुक्रबारको कारोबार बन्द गर्न यदि लगानीकर्ताका आधिकारिक संघसंगठनले लिखित रुपमा माग गरे नेप्सेले विचार गर्ने बताएका थिए। त्यतिबेला उनले सञ्चालक समितिको बैठकमा यो अजेन्डा पेस गरेर निर्णय गर्ने जानकारी गराएका थिए। तर, लगानीकर्ताका संघसंगठनले लिखित रुपमा शुक्रबारको कारोबार रोक्न माग गरे पनि हालसम्म नेप्सेले निर्णय लिन सकेको छैन।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आगामी साता यो विषयमा निर्णय हुन सक्ने बताए। ‘आगामी साता नेप्से सञ्चालक समितिको बैठक बसेर यो विषयमा निर्णय गर्ला कि’, उनले भने, ‘तर, अहिले नै नेप्सेले यस विषयमा निर्णय लिइसकेको अवस्था छैन।’

सेबोन प्रवक्ता रुपेश केसीले भने यसअघि नै बिजशालासँगको कुराकानीमा शुक्रबारको सेयर कारोबार निरन्तरता दिने वा नदिने भन्ने विषयमा निर्णय लिने अधिकार नेप्सेकै रहेको बताएका थिए। तर, सेबोनको अधिकारिक धारणा भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार हप्तामा ५ दिनमात्रै कारोबार खुला गर्नु उचित हुने भएकोले शुक्रबारको कारोबार बन्द गर्नुपर्छ भन्ने नै रहेको केसीले स्पष्ट पारेका थिए। ‘सरकारले पनि आइतबारबाट बिदा खारेज गरिसकेको अवस्थामा शुक्रबार सेयर कारोबार खुला गर्नु उपयुक्त नहुने सेबोनको धारणा छ’, उनले भनेका थिए।