काठमाण्डौ । सरकारले जेठ १ गतेदेखि प्रत्येक साताको आइतबार पनि सार्बजनिक बिदा दिने निर्र्णय गरेको छ । यो निर्णयसँगै अब सेयर बजार पनि आइतबार बन्द हुनेछ । 

अब आइतबार पनि बजार बन्द हुँदा पहिलाको जसरी शुक्रबार कारोबार नगर्ने हो भने नेपालको सेयर बजार सातामा ४ दिन मात्रै खुल्नेछ । जुन लगानीकर्ताका लागि उति व्यवहारिक देखिन्न । 

बजारका सरोकारवाला, जानकार तथा नियामक चाहिँ आइतबार पनि सार्वजनिक विदा हुने भएपछि शुक्रबार पनि सेयर कारोबार खुलाउनुपर्ने पक्षमा देखिएका छन् । 

लामो समयदेखि लगानीकर्ताहरुले शुक्रबार पनि कारोबार खोल्नुपर्ने माग बजारमा सुनिदै आएको थियो । सेयरको आभौंतिकरण नहुँदाको अबस्थामा शुक्रबार कारोबार हुने गरेको थिएन । 

पहिला खासगरी शुक्रबार अडलटको कारोबार गरिन्थ्यो । पछि सबै सेयर अभौतिकरण भएपछि अडलटको कारोबार स्वतः बन्द भएको थियो । 

अन्तराष्ट्रिय बजारको पनि अनुभब सँगालेका बजार जानकार  मुक्ति अर्याल शुक्रबार पनि कारोबार गर्नुपर्नेमा जोड दिन्छन् । अर्याल भन्छन्-'अन्तराष्ट्रिय सेयरबजारमा सातामा पाँच दिन ९ः३० देखि ४ सम्म कारोबार हुने गर्छ । हामीकहाँ समय पनि थोरै छ । अब आइतबार पनि बिदा हुने भएपछि सेयर कारोबार पनि बन्द हुने भयो । आइतबार बन्द भए पछि शुक्रबार नियमित कारोबार गर्दा राम्रो हुन्छ । कारोबार समय पनि बढाँउदा अझ राम्रो हुन्छ ।'

ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट पनि अब शुक्रबार कारोबार थाल्नुपर्नेमा जोड दिन्छन् । 'शुक्रबार कारोबार नभएर लगानीकर्ताहरुमा केही असहज जस्तो देखिन्थ्यो । बल्ल नेप्से अब फर्ममा आयो । यो राम्रो हो । शुक्रबार कारोबार सुरु गर्न खासै प्राबिधिक समस्या छैन । एउटा सामान्य निर्णय गर्दा हुन्छ । अन्तराष्ट्रिय रुपमा पनि ५ दिन कारोबार हुने गर्छ ।'  उनले थपे-'पहिला अड लटको कारोबार हुने भएकोले केही प्राबिधिक समस्या थियो । अहिले सबै सेयर अभौतिकरण भएका छन् । त्यसैले समस्या केही छैन । अब अफिस पनि ५ः३० बजेसम्म खुल्ने भएका कारण अझ सहज हुन्छ ।' 

नेप्सेका एक उच्च अधिकारीले अब शुक्रबार पनि कारोबार सुरु गर्ने विषयमा छलफल सुरु भएको जानकारी दिए । उनले धितोपत्र बोर्डसँग आवश्यक छलफल गरी केही दिनमै यो विषयमा निर्णय लिइनेछ । 

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले यो बिषयमा एकदुई दिनमै निर्णय हुने बताए । हमालले भने-'सरकारले जेठ १ देखि आइतबार पनि बिदा दिने बिषयलाई परीक्षण गर्ने भनेको छ । यो निर्णयपछि हामी पनि छलफलमा छौं । छिट्टै निर्णय गर्छौं ।'