काठमाण्डौ । शुभम् पावर लिमीटेडले आयोजना प्रभावितले नकिनेको सेयरलाई समेत समावेश गरी सर्वसाधारण लगानीकर्ताका लागि कुल ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने भएको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओ  निश्कासनको माग गर्दै भदौ २७ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले पहिलो चरणमा जेठ २० गतेदेखि आयोजना प्रभावितका लागि २ करोड रुपैयाँ बराबरको सेयर जारी गरेको थियो । तर, सो क्रममा १ लाख ८० हजार ५ सय ८० कित्ता सेयर बिक्री भएको थिएन । सो समेत समावेश गरी अब सर्वसाधारणका लागि कुल ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर जारी गर्न लागेको हो । 

यसअघि सर्वसाधारणका लागि ४ लाख कित्ता मात्र छुट्याइएको थियो । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल लिमीटेड रहेको छ ।

दुई चरणको आईपिओ पश्चात कम्पनीको चुक्तापूँजी २० करोड रुपैयाँ पुग्ने छ । जसमा संस्थापकको ७० र सर्वसाधारणको ३० प्रतिशत हिस्सा हुनेछ ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको अवस्था निकै कमजोर छ भन्ने हो । अवस्था कमजोर भएकै कारण यो कम्पनीलाई आयोजना प्रभावितले नपत्याएका देखिन्छ ।

कम्पनीले संखुवासभामा करिब एक मेगावाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी ०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

कम्पनीले उत्पादन गरेको विद्युत् बर्षायाम प्रतिमेगावाट ३.९० रुपैयाँको दरमा र हिउदको लागि प्रतिमेगावाट ५.५२ रुपैयाँको दरमा किन्ने गरी विद्युत प्राधिकरणसँग सम्झौता भएको छ । 

कम्पनीमा रिभर फल्स पावर लिमिटेडको ७०.२० प्रतिशत, न्याग्दी ग्रुप पावर नेपालको १२.३० प्रतिशत लगानी रहेको छ ।