काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक आचारसंहिताविरुद्ध उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै व्यापारव्यवसाय नगर्न उद्यमीव्यवसायीहरुलाई सचेत गराएको छ। 

कोरोना महामारीबीच नेपाली महान चाडपर्वहरु नजिकिँदै गर्दा बजारमा म्याद नाघेका अखाद्य तथा गुणस्तरहीन सामान बेचबिखन भइरहेका गुनासाहरु आउन थालेपछि महासंघले यस्तो सचेत गराएको हो। यस्तो कठिन घडीमा कहिकतै कम गुणस्तरीय सामान बिक्रीवितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा विक्री गरेकोलगायतका प्रचलित कानुनविपरीतका कार्यहरू भएको भन्ने गुनासाहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण भएका महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ। 

कहिल्यै र कहीँकतैबाट जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयमा लापरबाही नहुने महासंघको ठहर छ। ‘कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसँग खेलवाड हुने र प्रचलित कानुनविपरीत कार्य गर्ने छुट छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यदि कहीँकतैबाट भएको रहेछ भने कानुनअनुसार कारबाहीको भागीदार हुनुपर्नेछ।’

महासंघ आफ्ना सबै सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूमार्फत मुलुकभरका उद्यमीव्यवसायीहरूमा व्यावसायिक आचारसंहिताको पूर्णपालना गरी व्यापार व्यवसाय गर्न आग्रह पनि गरेको छ। साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि बढाउँदै सबै सरोकारवालाहरूको आत्मसम्मानको सुरक्षा गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ।