काठमाण्डौ । केही दिनयता छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामला लगातार घट्दै गइरहेको छ भने निको हुने संख्याको लगातार बढिरहेको छ।

पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार ४४ जना संक्रमित भेटिएका छन्। योसँगै भारतमा कुल संक्रमित संख्या २ करोड ५४ लाख बढी भएको छ। 

पछिल्लो २४ घन्टामा ३ लाख ८९ हजार ५६६ जना निको भएका छन्। निको हुनेको संख्या २ करोड १९ लाख बढी पुगेको छ। 

यसरी भारतमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्यामा १ लाख २७ हजार १०९ को कमी आएको छ । हाल उपचार गराइरहेका बिरामीको संख्या ३२ लाख २१ हजार बढी रहेको छ। 

संक्रमितको संख्यामा कमी आए पनि भारतमा मृत्युदर भने लगातार बढिरहेको छ। भारतमा मंगलबारमात्रै ४ हजार ५२५ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्युको यो एक दिनको आँकडा हालसम्मकै उच्च हो। गत सोमबार भारतमा ४ हजार ३३४ को मृत्यु भएको थियो।

हालसम्म भारतमा कोरोनाबाट २ लाख ८३ हजारभन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी