-भक्तराज रसाइली
काठमाण्डौं । मांसाहारी बाहुल्य समाजमा शुद्ध शाकाहारी भएर जन्मिएकाहरुलाई कुनै बेला कहीँ कतै अभर परेर बास बस्दा आफूले चाहेजस्तो खानेकुरा पाउनै मुश्किल हुन्थ्यो । संगम चौलागाई शर्माले पनि यस्तै अप्ठ्यारो भोगे, धेरै वर्षअघि । 

२०४६ सालबाट झापामा बसी कोइलाको व्यापार थालेका थिए उनले । नेपालमा कोइलाको व्यापार गर्दा भारतीय साथीहरुसँग यात्राका क्रममा उनी सवार गाडीले एउटा मान्छेलाई ठक्कर दियो र उपचार गराउन धरानस्थित वी.पी प्रतिष्ठानमा लगे । त्यहाँ उपचार हुन नसकेपछि बिरामीका साथ भारततिर जादैं थिए, दमकमा चक्काजाममा फसे । बास बस्ने क्रममा उनलाई खानेकुराकै कारणले धेरै अफ्ठयारो परेको थियो, कारण उनी शुद्ध शाकाहारी थिए । त्यति नै बेला उनले साथीहरुलाई शाकाहारी भोजन तथा मिष्ठान्नको विजिनेश थाल्ने प्रस्ताव गरे, तर उनका साथीले यो प्रस्ताव हाँसेर उडाइदिए । त्यतिबेला संगमलाई झनक्क रिस उठ्यो, तर भित्रभित्रै इख राखे । त्यही इखले वि.सं. २०५२ सालमा दमकमै जन्माइदियो संगम स्वीट्स ।

त्यसताका ५–६ लाख पैसा लगानी गरी सो स्वीट्स पसल सञ्चालनमा ल्याए । त्यसपछि उनका जीवनको गियर नरोकी अगाडि बढिरहेको छ, कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । हाल उनले अन्य व्यवसायमा पनि हात हाल्न थालेका छन् । 

दमकमा संगम स्वीट्स जन्मिएको १४ वर्षपछि मात्र काठमाण्डौको कमलादीमा शाखा खोले । 

प्राय बिजिनेस हाउस तथा व्यवसाय काठमाण्डौंमा सफल भएपछि मात्र मोफसलमा खोलिन्छ, तर संगम स्वीट्स मोफसलमा सफलता प्राप्त गरेपछि काठमाण्डौमा आएर बिस्तार भयो र काठमाण्डौ हल्लायो ।

भारत आवातजावत गर्ने काठमाण्डौंका सम्भ्रान्त परिवार, धरान, पोखरा, बिराटनगरका ग्राहकहरुका आग्रह भएकै कारणले काठमाण्डौमा पनि शाखा खोलेको उनले खुलासा गरे ।  

तर, काठमाण्डौमा शाखा खोल्ने प्रसंग अलिक भिन्न रहेछ । व्यवसायी भएकाले काठमाण्डौं आउजाउ गरिरहनुपर्ने र त्यतिखेर शाकाहारी भोजनमा कि इण्डियन कि शुद्ध नेपाली मात्र हुने भएकाले उनले बीचको सम्भावना देखे । शुद्ध इण्डियन र शुद्ध नेपालीभन्दा केही फरक गर्न सके व्यवसाय चल्छ जस्तो लागेर उनले काठमाण्डौसँग जोडेर सपना बुन्न थाले र  त्यही सपनालाई साकार पार्दै उनले कमलादीबाट संगम स्वीट्सलाई राजधानी भित्र्याए । 

यस शाखा व्यवसायिक सुरुवातीको ३ वर्षसम्म डामाडोलकै अवस्थाबाट गुज्रियो । उनी दूरदर्शी त थिए, तर व्यवसायमा फ्लप भएको उनको यो पहिलो अनुभव थियो । उनको हार नखाने र जिद्धी स्वभावले गर्दा व्यवसायबाट अलिकत्ति पनि विचलित भएनन् । ‘सफल हुने भए त सबैले खोलिहान्छ नि रिस्क लिनै पर्छ अनि न सफल व्यवसायी कहलिन सकिन्छ।’उनले भने । 

संगम स्वीट्सका शाखा हाल दमक, बिर्तामोड, उर्लाबारी गरी ३ वटा उपत्यका बाहिर र काठमाण्डौं उपत्यकामा कमलादी, नयाँ बानेश्वर र कालीमाटी गरी जम्मा ६ वटा शाखा सञ्चालनमा छन् । 

विदेशमा पनि शाखा खोल्ने उनको इच्छा छ, तर त्यसका लागि पर्याप्त अध्ययन र संभाव्यताको खोजी गर्नुपर्छ भन्ने उनले ठानेका छन् ।

मिठाई लगायत अन्य स्न्याक्समा कच्चापदार्थ धेरै नेपालबाटै जुट्ने र केही भारतबाट ल्याउने संगम स्वीट्मा कालिगढ भारत र नेपालका बराबरी संख्यामा रहेका छन् । १५० जनालाई प्रत्यक्ष रोजगारी र ३ सय हाराहारीमा अप्रत्यक्ष रोजगारी दिइरहेका उनको दाबी छ । शतप्रतिशत शुद्ध आइटम बेच्ने दाबी गरेका उनले ८ सय पचास प्रतिकेजी देखि ३ हजार प्रतिकेजीसम्मका करिब २ सय प्रकारका मिठाई बिक्री गर्ने गर्छन् ।

संघर्षपूर्ण जीवन
मध्यम वर्गीय किसान परिवारमा जन्मेका संगम स्वीट्सका मालिक संगम चौंलागाइँ शर्माको जन्म वि.सं. २०२७ सालमा भएको थियो । जन्मस्थान कहाँ हो भन्ने प्रश्नमा उनलाई नयाँ जीवन दिने विभिन्न ठाउँ भएकाले यही धर्ती नै भन्ने जवाफ दिन चाहन्छन् । भारतबाट आई.कम्. अध्ययन गरेका उनी आफ्नो व्यवसायमा निकै अब्बल छन् । 

सन् १९८६मा पिताको मृत्यु भएका बेला उनी कक्षा ७ मा मात्र अध्ययन गरिरहेका थिए । घरमा ४ भाई र २ बहिनी मध्ये सबैभन्दा जेठा छोरा उनले सानै उमेरमा ठूलो जिम्मेवारी काँधमा राख्दै परिवार र आफ्नो जीवन उज्वल बनाउनु आफैंमा कम चुनौति थिएन । अहिले पनि आफ्नी रोगी आमाको स्याहारसुसार, व्यवसाय, सामाजिक कार्यमा दत्तचित्त भई अघि बढिरहेकै छन्, वर्षौअघि सुरु भएको सक्रियता उस्तै छ, चमक उस्तै छ । 

उच्च शिक्षा नपढेकामा उनलाई अफसोच पनि छैन, तर किताबी शिक्षाको ज्ञान नहोला देश बिदेशको भ्रमण, राम्रा पुस्तकहरु, उपन्यास बाहेक १५ वटा देश घुमेर आर्जन गरेको शिक्षाले उनलाई सफल व्यवसायी बनेर जिन्दगी जिउन सिकाएको छ । उनी भन्छन्–‘देखेर सिक्ने र मान्छेहरुसँग बोलेर प्राप्त हुने ज्ञानलाई सर्वोच्च ठान्दछु र त्यसले जीवनमा सकारात्मक भूमिका खेलेको हुन्छ ।’

एक्लै बसेका बेला भविष्यबारे निकै सोच्ने उनी भविष्य आंकलन गर्ने बानी भएकाले नै व्यवसायमा सफल उद्यमीका रुपमा स्थापित भएको दाबी गर्छन् । ‘जीवनमा असफलताहरुबाट लडिन्छ, नलड्नु बुद्धिमानी हो । लडेपछि उठ्न धेरै गाह्रो हुन्छ, तर मैले जे गरेँ हिम्मत नहारी धैर्यताका साथ उठेँ ।’–शर्माले आत्मविश्वासका साथ भने ।

कोइला कहानी 
पढाईका सिलसिलामा भारतमा रहँदा पनि छिटपुट बिजिनेस गरेका थिए ।  ४६ सालतिर पत्थर कोइलाको बिजनेस थालेका उनले भारतको असमबाट कोइला ल्याएर बेच्थे । पूर्वका धरान, इटहरी, दमक र काठमाडौंका विभिन्न भट्टीहरु उनका ग्राहक थिए ।

इमान नै पूँजी 
नेपालमा कुनै पनि बिजनेस नगदमा नहुने र उधारोमा हुने भएकाले यदि बजारमा र्ईमानलाई नै पूँजीका रुपमा लगानी गर्न सकिने उनी ठोकुवा गर्छन् । 

गुडविल र सम्बन्धको राम्रो छाप अरुलाई परेर व्यवसायमा सहज भएको उनी विगत सम्झन्छन् । भारतमा नेपालबाट गएर कि सरदार कि मजदूरका रुपमा नेपाली दाजुभाइहरुले काम गर्थे, तर उनले त्यहाँ आफ्नो क्षमता र इमानदारीताले गर्दा नेपालसम्म कोइला आयात गरेर व्यवसाय थाले । 

कोइला व्यवसायबाट व्यवसायी बन्ने सपना सँगालेका उनले केही न केही नयाँ बिषयमा सोच्न थाले । 

दूरदर्शी सोचका उनले आफ्नो स्वबिजनेस आफैंले गर्न केही पैसा भए स्थायी ठाउँ बनाउन पाए, व्यवसायमा क्रान्ति ल्याउन सकिने  सोंच राखे । त्यही सपनाले उनलाई नेपालमा कुनै स्थायी ठाउँमा व्यवसाय सुचारु गर्ने धोकोलाई जन्म दियो र त्यसलाई मूर्तता दिन दिनरात लागिपरे ।

उनले आमाबाट पाएको शाकाहारी संस्कारले मिठाई  व्यवसायतर्फ उत्प्रेरित गरेको उनी बताउँछन् । 

उनलाई सफल बनाउन पत्नी बुनु शर्माको साथ समेत धेरै महत्वपूर्ण रहेको उनी बताउँछन् । एक छोरा र एक छोरी मायाले उनलाई सधैं काममा प्रेरिरत गरिरह्यो, जगाइरह्यो ।

इमानदारिता, धैर्यता र व्यवहारमा स्पष्टता सफल व्यवसायीमा हुनुपर्ने अनिवार्य गुण हुन भन्ने उनको जीवनले सिकाएको पाठ हो । 

अहिले पनि संयुक्त परिवारमा नै बस्ने र परिवारको नेतृत्व संगम शर्माले नै हाँकिरहेका छन् । काममा व्यस्त भएमा र सबै शिक्षित छन् भने संयुक्त परिवार पनि मज्जाले चल्ने उनको बुझाई छ ।

२२ वर्षदेखि धाइरहने ग्राहक
उनको संगम स्वीट्समा एकपटक पुग्ने ग्राहक सम्झिएर आइरहने उनको अनुभव छ । आफ्नामा २२ वर्षदेखिका ग्राहकले पनि अहिलेसम्म आफ्नै मिठाई पसलबाट सेवा लिइरहेका उनी गर्वसाथ सुनाउँछन् ।

पाँच लाखबाट सुरु भएको व्यवसाय हाल करोडौंको भएको छ । उनले आफ्नो सफलताको श्रेय आफ्नी आमाबाट पाएको शाकाहारी जीवनशैली र आफ्नो धैर्यतालाई दिन्छन् । 

संगम  स्वीट्स नै किन ?
उनले भने–‘पारिवारिक वातावरण र शतप्रतिशत शुद्ध शाकाहारी मिठाई तथा स्न्याक्सका लागि संगम स्वीट्स हो । हामीलाई कहिल्यै पनि मिठाईमा मिसावट गर्न आएन ।’ गलत काम लामो समय  नटिक्ने र बरु राम्रो गर्न सके त्यो दीर्घकालका लागि हुने उनको बुझाई छ । ‘ग्राहकको स्वास्थ्य र समाज परिवर्तनका निम्ति पनि म मेरो व्यवसायमा धर्म छाड्दिँन।’ उनले थपे ।

विदेश नजान  युवालाई आग्रह
व्यवसाय गरिरहँदा उनी देशको दैनिकीप्रति पनि उति नै सचेत छन् । भेडाबाख्राको शैलीमा नेपाली युवाहरु विदेश भाँसिरहेका देख्दा उनी दुःखी हुन्छन् । अथाहा संभावना स्वदेशमै भए पनि सानो काम गर्नेलाई समाजले सम्मान दृष्टिकोण राख्नुपर्ने र प्रोत्साहन दिनुपर्नेमा उल्टो भइरहँदा युवापुस्ता निराश बनेर विदेश लागिरेहेको उनको धारणा छ ।  विदेशमा कामको जस्तो सम्मान छ, यहाँ पनि सबैखालको कामको सम्मान गरेर  केही न केही विजिनेश थाल्न सके, पैसा कमाउनैका लागि विदेश जान नपर्ने उनको सुझाव छ । 

पानपसल खोल्ने व्यापारीले आफ्नो परिवार र राष्ट्रलाई राजश्व तिरेकाले सरकारले पनि सम्मान र हौसला प्रदान गर्नु नीति ल्याउन सके मात्र विदेश जाने सोंचमा रहेका युवालाई रोकेर व्यवसायी बनाउन सकिने उनको भनाई छ ।

अर्थपूर्ण  कमाई
जसरी पनि पैसा कमाउँछु भनेर सोच्नुभन्दा पनि सकारात्मक हिसाबले कमाएको पैसाले मात्र बिशेष अर्थ राख्ने उनको अनुभव छ । त्यसैले धनसँगै समाजका लागि पनि सकारात्मक काम गर्दै जानुपर्नेमा उनी जोड दिन्छन् ।

छोटो समयमा उनले हामीसँग नेपालमा व्यवसाय गर्दाका चुनौतिहरुको बिषयमा पनि विश्लेषणको कोशिश गरे । बजारबाट किनिएका कच्चापदार्थ ब्राण्डिङका आधारमा किन्ने गरेको र नियामक निकायले पनि आजसम्म कच्चापदार्थको गुणस्तर नाप्ने नगरेको र किनेको सामानमा अन्यौल रहेको दाबी गरे । बजारमा दक्ष जनशक्तिको अभाव रहेको पनि उनले सुनाए । 

कुराकानीको क्रममा उनले ३ करोड नेपाली र समग्र मुलुकका निम्ति पूर्वाधार व्यवस्थित गर्नुपर्ने र असल व्यवसायीलाई बिना पूर्वाग्रह सम्मान र हौसला गरे आर्थिक समृद्धि टाढा नरहेकोसम्म भन्न भ्याए ।

समाजसेवाको धोको
भोलिको दिनमा पनि समाजसेवामा सक्रिय भई समाज परिवर्तनका लागि केही गर्ने उनको धोको रहेछ । उनी समाजसेवामा औधी रुचि राख्ने गर्दा रहेछन् । दमक जेसिसको सभापति सन् १९८६ मा, लायन्स क्लब अफ केटीएम स्वीट सिटीमा चार्टर सभापति, त्यस्तै ज्येष्ठ नागरिक प्रतिष्ठान दमकका संस्थापक सदस्य समेत रहेका छन् । कुनै राजनीतिक दलमा आस्था नराख्ने उनी आफूलाई अराजनीतिक व्यक्ति भन्न रुचाउँछन् ।

हालसम्म औपचारिक सम्मानहरु पाउनु भएको छ कि छैन ? भन्ने हाम्रो प्रश्नमा उनले भने–‘लबिङ कसैले गरिदिदैन, तर मलाई चिन्ता छैन, जनताले पुरस्कार दिईनै रहेका छन् । आईदिनुहुन्छ ,खाईदिनुहुन्छ । मेरो फेरि पनि अनुरोध म एक व्यवसायी हुँ, आईदिनुस्, खाईदिनुहोस् र सेवा गर्ने सौभाग्य पाउँ ।’

व्यापारमा लुट्ने र कमाउने दुईवटा पाटा रहेकामा लुट्ने अवैधानिक र कमाउने बैधानिक बाटो भएको र आफूले ग्राहकका सन्तुष्टिलाई नै केन्द्रबिन्दुमा राखेर व्यवसाय गरेको दाबी गरे । ‘म कमाउँछु तर ग्राहकलाई लुटेर हैन, खुशी बनाएर र यस्तो सोंच हरेक व्यवसायीमा हुनुपर्छ ।’ उनले भने ।

के भन्छन् ग्राहक ?
संगम स्वीट्मा खाजा खान आएका सिन्धुलीका कानून व्यवसायी विश्वनाथ दाहालले शुद्ध  शाकाहारी  र उचित मूल्य तथा सरसफाई राम्रो भएकाले आफू खाजा तथा मिठाई खान संगम स्वीट्स नै आउने गरेको बताए ।

सोही स्वीट्समा पर्यटन व्यवसायी हिमाल श्रेष्ठ पनि भेटिए । उनले भने–‘यहाँ  पाइने गुणस्तरीय मिठाई तथा शाकाहारी स्न्याक्स, सरसफाई पनि राम्रो रहेकोले शंकै नगरी आउँछु ।’