काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले धितोपत्र दलाल, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधन मस्यौदाप्रति असन्तुष्टि जनाउँदै आज नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ज्ञापनपत्र बुझाएको छ। 

एसोसिएसनका महासचिव गुणनिधि भुसालद्वारा जारी ज्ञापनपत्रमा आफूसँग सल्लाह नै नगरी सेबोनले निमायवली संशोधन गरिएकोमा आपत्ति जनाइएको छ। ‘विद्यमान धितोपत्र व्यवसायीहरुबाट भौगोलिक रुपमा बजार तथा सेवा बिस्तार हुन नसकेको झुठा आरोप लगाइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र दलाल व्यवसायमात्र गर्न पनि विकसित देशको भन्दा कयौँ गुणाले उच्च पुँजी राख्न लागाउनु भनेको नियामकले सूक्ष्म अध्ययन बिना नै हचुवाको भरमा अल्पदृष्टि राखी निर्णय गरेको हो।’

सेबोनले संशोधित मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। ‘आधारहीन अध्ययनका आधारमा व्यक्तिगत सस्तो लोकप्रियताका लागि गरिएको यस्तो संशोधन प्रस्तावले हाल सञ्चालनमा रहेका व्यवसायीहरुलाई व्यवसाय छोडन बाध्य पार्ने, अन्य उत्पादनमूलक क्षेत्रमा पुँजीको कमी भइरहेको अवस्थामा सीमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा अधिक पुँजी लगानी गर्न हौस्याइएको छ’, ज्ञापनपत्रमा भनिएको छ, ‘यसमा गरिएको जनताको लगानीलाई जोखिममा पार्ने, राफसाफमा निहीत जोखिम बढ्ने र अन्त्यमा गर्न सक्ने र क्षमतावान टिक्ने नाममा सीमित समूहको नियन्त्रणमा धितोपत्र दलाल व्यवसाय पुग्ने वातावरण सिर्जना भई समग्र बजार नै असन्तुलित हुनेछ।’

त्यसैले हाल अर्थ मन्त्रालयमा विचारधीन अवस्थामा रहेको मस्यौदामा धितोपत्र व्यवसायीहरुको पनि रायसुझाव समेटिने गरी छलफल चलाउने निर्देशनसहित उक्त मस्यौदा पुनः नेपाल धितोपत्र बोर्डमै फिर्ता गर्न पनि ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ।