काठमाण्डौ । दोश्रो बजारमा संस्थागत लगानीकर्ताको प्रवेश हुन थालेपछि नेप्से परिसूचक हराभरा हुन थालेको छ ।
तीन दिनअघिदेखि बुलिस ट्रेण्ड सुरु हुने आशामा लगानीकर्ताले खरिदारी बढाइरहेको बेला बिहीबारदेखि संस्थागत लगानीकर्ताहरुले समेत सेयर उठाउन थालेका छन् । यसले बजारलाई धेरै दिनपछि दोहोरो अंक अर्थात १६.०१ अंकको बढोत्तरीसहित ११२७.७७ विन्दूमा फर्काइदिएको छ ।
बजारमा बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब ७ करोडले बढेको छ ।
हराभरा बजारमा परिसूचकसँगै कारोबार रकम पनि समानान्तर ढंगले बढ्नु निकै सुखद संकेत हो । यो प्रवृति केही दिनसम्म निरन्तर रहे त्यसपछि बजारमा बुलिस प्रवृति सुरु हुने विश्लेषकहरु बताउँछन् ।
निरन्तर घटिरहेको बजारमा बैंक तथा बित्तीय संस्थाहरुले थोरै विन्दूमा भए पनि घटाएको ब्याजदरले समेत सकारात्मक प्रभाव पारेको विश्लेषकहरु बताउँछन् ।
केही विश्लेषकहरुले अब सेयर बजारको बियरिस प्रवृति अन्त हुने र बुल सुरु हुने भन्दै गरेको प्रक्षेपणमा समेत लगानीकर्ताले विश्वास गर्दा बजार घटेर न्यून विन्दूमा पुगेको बेला सस्तोमै राम्रा कम्पनीको सेयर उठाउने दौडले समेत बजारमा एकाएक खरिद चाप देखिएको छ ।
बजार अब बुलिस ट्रेण्डमा कुद्ने विश्वासका कारण लगानीकर्ताको मनोबल समेत वृद्धि भएको देखिएको छ । यहीकारण कतिपय विश्लेषकले अफसिजन भनी परिभाषित गरिएको फागुनमै समेत बजारले नयाँ गति लिने स्पष्ट संकेत गरेको छ ।
बजार तीन दिनदेखि निरन्तर बढिरहँदा लगानीकर्ताहरुमा समेत अभूतपूर्व उत्साह र अनुहारमा चमक देखिएको छ ।
बिहीबार राम्रा कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ३.४३ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.२६ अंकको बढोत्तरी देखिएको छ ।
यो दिन उत्पादनमूलक समूहमा १८.६९ अंकको गिरावट आए पनि बाँकी सबै समूहको सूचक हराभरा भएका छन् ।
बैंकिङ समूह १३.९२ अंकले बढेको यो दिन जीवन बिमा समूहमा १५९.३२ अंक, निर्जीवन बिमा समूहमा १०५.२४ अंक, माइक्रोफाइनान्स समूहमा २२.११ अंक, विकास बैंक समूहमा १७.९१ अंक, होटल समूहमा ०.४ अंक, बित्त समूहमा ४.४१ अंक, जलविद्युत समूहमा १७.०४ अंक र अन्य समूहमा ५.७३ अंकको वृद्धि देखिएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका ११ लाख ६८ हजार ३०४ कित्ता सेयर २९ करोड ३९ लाख लाख ३८ हजार २०३ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १ करोड ९९ लाख बढीको कारोबार गर्यो ।
एनसीसी बैंकले १ करोड २८ लाख, अपर तामाकोशीले १ करोड ७ लाख, प्रभू बैंकले १ करोड ४ लाख, एनआइसी एशियाले १ करोड ३ लाख, छिमेक लघुवित्तले ७७ लाख, नागरिक लगानीकोषले ७५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले ६० लाख, नेको इन्स्योरेन्सले ५९ लाख र एनएमबी बैंकले ५७ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चारवटा कम्पनीले कुस्त कमाए । पूर्णिमा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो ।
रादी जलविद्युत कम्पनीका लगानीकर्ताले ९ प्रतिशतको हाराहारीमा कमाए । यसैगरी, महुली सामुदायिक लघुवित्तको सेयर मूल्य ८.०९ र नेशनल हाइड्रोपावर कम्पनी लिमीटेडको मूल्य ८.०६ प्रतिशतले वृद्धि भयो ।
यो दिन घलेम्दी हाइड्रोका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19