काठमाण्डौ । डिजिटल वित्तीय सेवामा जडान गर्ने उद्देश्यले आइप्लेक्स् मलमा सफलतापूर्वक मोबाईल बैंकिङ मेला आयोजना गरेको फोनपेले राजधानीको चावहिलस्थित केएल टावरमा पनि दोस्रो मेला सम्पन्न गरेको छ । 

नेपालको अग्रणी भुक्तानी नेटवर्क फोन पेले राजधानीमा रहेका प्रमुख मलहरूमा फेबु्रअरी र मार्च महिनामा यस किसिमको मोबाईल बैंकिङ मेला सञ्चालन गर्नेछ ।
  
‘मोबाईल बैंकिङ’ बैंकहरूले प्रदान गरेको सेवा हो, जसबाट प्रयोगकर्ताले मोबाईल फोनमार्फत बैंक भुक्तानी, फण्ड ट्रान्सफर, स्टेटमेन्ट जाँचजस्ता थुप्रै सेवा लिन सकिनेछ । 

मोबाईल बैंकिङमार्फत जुनसुकै बेला पनि वित्तीय सेवाहरू प्रयोग गर्न सकिन्छ । स्क्यान टु पे सुविधामार्फत बिजुलीको महशुल, टेलिफोन बिल भुक्तानी, हवाइजहाज टिकट, चलचित्र टिकट, किराना पसलमा किनमेल जस्ता थुप्रै सेवा सरल रूपमा लिन सकिन्छ ।

मोबाईल बैंकिङ मेला एउटा आकर्षक अन्तरक्रियात्मक कार्यक्रम हो, जहाँ धेरै रोचक खेलहरूका साथमा सहभागीले थुप्रै पुरस्कार जित्न सक्नेछन् । मलमा आउने मानिसहरूमा ‘स्पिन द वील’ बोनाञ्जा आकर्षणको केन्द्रविन्दु बनेको छ । 

सहभागी सबैजनाले फेन्सी सामाग्रीका साथै तत्काल मोबाइल टपअप जस्ता उपहार जित्न सकिनेछ । मेलामा सहभागी सबैजनामध्येबाट एक जनाले बम्पर उपहारका रूपमा ५० हजार रूपैयाँ जित्न सकिनेछ । बम्पर उपहार विजेता मेलाको अन्तिममा घोषणा गरिनेछ । 

यसबाहेक यो योजनामा सहभागीहरू फोन पे को अर्को मेगाअभियान ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनामा सहभागी हुन सकिनेछ । कुनै पनि मोबाईल बैंकिङ प्रयोगकर्ता आफ्नो बैंकको मोबाईल बैंकिङ एपमार्फत क्युआर स्क्यान टु पे मार्फत कारोबार गरी यस योजनामा सहभागी हुन सकिनेछ । जनवरी २ देखि सुरू भएको यो योजना जुलाई २, २०२० सम्म चल्नेछ । 
उपहार विजेता दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ । दैनिक ५ जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यासब्याकको सुविधा पाउनेछन् । 

यस्तै पाँच वटा मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाईल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एकजना ग्राहक र मर्चेन्टले डिजिटल लक्की ड्रमार्फत दुबई ट्रिप जित्न सक्नेछन्। 

यसैबीच, मिस नेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठले मोबाईल मेलामा सहभागीता जनाई ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाका साप्ताहिक मोबाईल बिजेतालाई २५ हजार रूपैयाँ बराबरको मोबाईल फोन हस्तान्तरण गरिन् । 

अर्को मोबाईल बैंकिङ मेला मार्च ८ का दिन सुन्धाराको सिभिल मलमा आयोजना हुनेछ ।