काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी आज फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ। 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागिएको हो। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एकीकृत कारोबार प्रारम्भ भएको मितिबाट १५ दिनका लागि सेयर कारोबार रोकेको हो। यसअघि दुवै कम्पनीले नेप्सेलाई सेयर कारोबार रोकिदिन पत्राचार गरेका थिए। 

धितोपत्र बोर्डको मर्जर निर्देशिकाबमोजिम मर्जरमा गएका कम्पनीको सेयर मिलान, धितोपत्रको पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ। 

यी दुवै कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारणसभाले दुवै कम्पनीबीचको मर्जर प्रक्रियालाई पारित गरेको थियो। नेपाल बीमा प्राधिकरणले गत फागुन १६ गते र नेपाल धितोपत्र बोर्डले फागुन २३ गते दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। 

कम्पनी रजिस्ट्रारको कार्यालयले भने गत फागुन १९ गते गाभिने कम्पनीको सम्पूर्ण ऋण, धन तथा दायित्व नयाँ बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले व्यहोर्ने र बुझाउन बाँकी रहेको विवरण समेत बुझाउने सकार्ने गरी स्वीकृति प्रदान गरेको थियो। 

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौको नक्सालमा रहनेछ। 

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात १००ः८० मा मर्ज भएका हुन्। यसका साथै दुवै कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात स्वाप रेसियो गणना गरी मर्जरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ।