काठमाण्डौ । आस्वा सदस्यता नवीकरणमा चर्को अलोचना खेपेको नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफ्नो निर्णय सच्चाउने भएको छ। 

सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण भएको जानकारी गराएको थियो। सेबोनले बाँकी १६ वटाको भने नवीकरण गरेको थिएन। 

धमाधम कम्पनीहरुले आईपीओ जारी गरिरहेकै बेला आस्वा सदस्यता प्राप्त ४० वटा बैंक तथा वित्तीय संस्थामध्ये २४ वटाको मात्रै नवीकरण भएको जानकारी गराएपछि सेबोनको चर्को आलोचना भएको थियो। यसरी बिना पूर्वजानकारी एक्कासि २४ वटाको मात्रै आस्वा सदस्यता नवीकरण भएको सूचना निकालेपछि लाखौँ लगानीकर्तालाई आईपीओ भर्नबाट सेबोनले वञ्चित गरेको भन्दै चौतर्फी आलोचना भएको हो। 

आस्वा सदस्यता नवीकरणको विषयलाई लिएर सेबोनभित्रै खैलाबैला मच्चिएको थियो। ‘यही विषयमा बिहानैदेखि छलफल भएको थियो, साँझसम्म बाँकी १६ वटै बैंक तथा वित्तीय संस्थाबाट लाग्ने शुल्क लिएर आस्वा सदस्यता नवीकरण गर्ने तयारी भइरहेको छ’, सेबोन स्रोतले भन्यो। 

बेलैमा आस्वा सदस्यता नवीकरण गर्नुपर्ने जिम्मेवार बैंक तथा वित्तीय संस्थाकै हुने भए पनि सेबोनले पूर्वजानकारी नगराएकै कारण आज साँझसम्म शुल्क तिर्नेहरुको सदस्यता नवीकरण गर्ने भएको हो। 

आस्वा सदस्यता नवीकरण गर्न प्रतिबैंक तथा वित्तीय संस्थाले २५ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ। नयाँ आर्थिक वर्ष सुरु हुनु १ महिनाअघिदेखि नै आस्वा सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था पनि छ। त्यसअघि सेबोनले सूचना निकालेर बैंक तथा वित्तीय संस्थालाई आस्वा सदस्यता नवीकरण गर्न जानकारी गराउनुपर्ने व्यवस्था छ।

सेबोनले यसपालि भने पूर्वजानकारी नगराई २४ वटा बैंक तथा वित्तीय संस्थाको मात्रै आस्वा सदस्यता नवीकरण भएको सूचना निकालेको थियो। जसका कारण आस्वा सदस्यता नवीकरण नभएका बैंक तथा वित्तीय संस्थामा खाता खोलेका थुप्रै लगानीकर्ताले आज आईपीओ र हकप्रद सेयर भर्न पाएनन्। 

सीडीएससीका एक अधिकारीले सेबोनले आज साँझसम्म बाँकी बैंक तथा वित्तीय संस्थाबाट शुल्क लिएर आस्वा सदस्यता नवीकरण गर्ने जानकारी गराएको बताए। ‘ती बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण भएमा लगानीकर्ताले साँझबाट पुनः आवेदन दिन पाउनेछन्’, ती अधिकारीले भने।