काठमाण्डौ। सत्तापक्ष विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउन तयार भएका छन्। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने समिति बनाउनुअघि नै अर्थमन्त्रीबाट शर्माले राजीनामा दिनुपर्ने अडानमा रहेको छ।

शर्मामाथि छानबिन गर्न संसदीय समिति बनाउनेमा सत्तापक्ष तयार भए पनि आफूहरूको अडान शर्मा अर्थमन्त्री पदबाट हट्नुपर्ने रहेको एमालेले जनाएको छ। शर्मा अर्थमन्त्री रहिरहने हो भने आफूहरुको विरोध जारी रहेन एमाले प्रस्ट पारेको छ। 

यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले विवादमा परेका अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बन्ने संसदीय समितिका लागि दलहरुसँग सदस्यको नाम माग गरिसकेका छन्। संसद भवनमा दलका प्रमुख सचेतकहरुलाई आफ्नो कार्यकक्षमा डाकेर सभामुख सापकोटाले संसदीय समिति गठन गर्न नाम मागेका हुन्।

प्रतिनिधिसभा सचिवालयका अनुसार समिति बनाउने गृहकार्यका कारण बिहान ११ बजे बोलाइएको बैठक २ बजेका लागि सारिएको थियो। तर बैठक अझै बस्न सकेको छैन।