काठमाण्डौ । सनराइज क्यापिटल लिमीटेडका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले सेयर बजारमा अब बढोत्तरीको क्रम सुरु हुने दाबी गर्दै लगानीको उपयुक्त समय अहिले नै रहेको बताएका छन् । 

सनराइज क्यापिटलको व्यवस्थापनमा निश्कासन हुन लागेको सनराइज फस्र्ट म्युचुअल फण्ड सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवैले बजार अब बढ्ने र अहिलेको समय नै बजारमा प्रवेश गर्ने वा सेयरमा लगानी गर्ने उपयुक्त समय भएको दाबी गरेका हुन्।

क्यापिटलका संचालक समिति अध्यक्ष अपचकुमार यादवले आफूहरुले तयार गरेको विज्ञहरुको टोलीले विश्लेषण गरी बजार छिर्ने उपयुक्त समय अहिले नै भएको निश्कर्ष निकालेकोतर्फ संकेत गर्दै भने–‘हामीले राम्रो तयारी र विश्लेषण गरी म्युचुअल फण्डको इकाई बजारमा ल्याउँदैछौ । बजार अब योभन्दा तल जाँदैन भन्ने हाम्रो प्रष्ट लाइन हो । त्यसकारण व्यक्तिगत वा संस्थागत लगानीकर्ताका लागि लगानी गर्ने सही समय पनि अहिले नै हो ।’

विभिन्न क्षेत्रका नाम चलेका विज्ञहरुको टोली बनाई उनीहरुको विश्लेषणमा समेत बजार अब बढ्छ भन्ने निक्र्यौल आएकोले बियरिस ट्रेण्डमा बजार कुदिरहेको र अधिकांश म्युचुअल फण्डहरुको नेट एसेट भ्यालू(न्याभ) १० रुपैयाँ भन्दा कम भएको अवस्थामा समेत आफूहरुले बजारमा आउने साहस गरेको उनको प्रष्टोक्ति थियो । 

‘अहिले १ अर्बबाट सुरु भएको कतिपय साथीहरुको फण्ड घाटा खाई ८० करोडमा सीमित भएको अवस्था छ । उहाँहरुको लगानी लसमा गइसकेको छ ।’ उनले भने–‘यही बेला हामी भने बजारमा प्रवेश गर्दैछौ । हामीले यसलाई अवसरको रुपमा सदुपयोग गर्न खोजेका छौ।’  

उनले बजार बढ्ने सही समय भएकोमा जोड दिंदै लगानीलाई बढाउन समेत आह्वान गरेका छन् । 

प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले समेत विगतको विश्लेषण र बजारले लिने बुल तथा बियरिस ट्रेण्डको निश्चित समय तथा प्रवृतिहरुको विश्लेषण गरेर म्युचुअल फण्डका इकाई बजारमा ल्याएको दाबी गर्दै लगानीको उपयुक्त समय अहिले नै भएको समेत बताए । 

‘नेप्से डाउन ट्रेण्डमा छ, अझै तल जाने भय छ सबैलाई ।’ श्रेष्ठले भने–‘बजार घटेर न्यूनतम विन्दूमा पुगेकै बेला हामीले भने अवसर देखेका छौ र विगतको अनुभवका आधारमा समेत हामीले म्युचुअल फण्ड ल्याएका हौ ।’

आफूहरुको कम्पनीले हायर गरेका विज्ञहरुको निकै बलियो टिम रहेको र आफूहरुको विश्लेषण समेत अब बजार बढ्ने रहेको उनको दाबी छ । ‘बजार छिर्ने सही समय यतिबेलै हो ।’ उनले थपे–‘१८८१ मा पुगेको नेप्से इण्डेक्समा ४० प्रतिशतको गिरावट आइसकेको छ । विगतको बुम र बियरिसको साइकल हेर्दा समेत अब बजार बढ्ने बेला भयो कि भन्ने देखिन्छ ।’