काठमाण्डौ । अर्थमन्त्रीका पुत्र तिलक खतिवडाले सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजनासँग जोडेर आफू र आफ्ना पिता अर्थमन्त्री डा. युवराज खतिवडाको विषयमा अफवाह फैलाइएको दाबी गरेका छन् । 

बिजशालासँग कुरा गर्दै खतिवडाले पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको र सो विषयमा आफूहरुकै पहलमा उनीहरुको चेकजाँचको क्रममा यस्तो पत्ता लागेको समेत दाबी गरे । 

‘लण्डनबाट आउनुभएका उहाँहरु हाम्रै अनुरोधमा पहिलो दिनदेखि नै सेल्फ क्वारेन्टाइनमा हुनुहुन्थ्यो ।’ सनसिटी अपार्टमेन्टमा बस्दै आएका बैंकर तथा अर्थमन्त्री पुत्र खतिवडाले भने–‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चैत ८ मा भएको अधिवेशनमा उहाँहरु सहभागी हुनु भएको थिएन ।’ 

अधिवेशनबाट खतिवडा वेलफेयर सोसाइटीका सचिव पदमा निर्वाचित भएका थिए । 

आफूहरुले वेलफेयर सोसाइटीको कार्यक्रम गर्दा समेत सामाजिक दूरी कायम गरेको, हात नमिलाएको र सबै खालका सचेतनाका उपायहरु अपनाएको समेत दाबी गरे । 

उनी लगायतका टिमलाई सोही दिन बधाई दिन र छोरालाई भेट्न अर्थमन्त्री खतिवडा समेत चैत ८ मा सनसिटी आएका वेलफेयर सोसाइटीकै पूर्व अध्यक्ष प्रवीण झाले दाबी गरेका थिए । तर, अर्थमन्त्रीपुत्रले भने झाको दाबी आधारहीन भएको बताए । 

‘झा अनियमितताको आरोपमा अध्यक्षबाट बर्खास्तीमा पर्नुभएको व्यक्ति हो । उहाँले नै त्यसको रीस फेर्न यो हल्ला फैलाउनुभएको हो ।’ तिलकले भनेका छन् । 

तिलकले आफू मात्र सनसिटीमा बस्दै आएको र आफ्ना पिता अर्थमन्त्री भने मन्त्री क्वार्टरमै बसिरहेका समेत प्रष्ट पारे । अर्थमन्त्री कोरोना संक्रमणको विषयमा धेरै सचेत रहेका र उनले निकै सजगता अपनाइरहेकाले धेरै आत्तिइहाल्नुपर्ने अवस्था भने नभएको समेत पुत्र खतिवडाले बताए । 

आरडिटी टेस्टको क्रममा मात्र पोजिटिभ देखिएकाहरुको कन्फर्म नतिजा आउन बाँकी रहेकोले धेरै अत्तालिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।

‘संक्रमणको आशंकाले मात्रै पनि डराउनुपर्ने विषयमा परिस्थितिमा हामी छौ । तर यस्तो बेलामा सचेत हुनुपर्छ, त्रासमा बसेर हुन्न ।’ उनले थपे–‘हल्लाको पछि लाग्नु हुँदैन । अनावश्यक हल्लाले पनि यस्तो बेलामा प्यानिक बनाउनसक्छ ।’