काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्ष सन्तोष मैनालीलाई बनाउने सर्वसहमति भएको छ । 

बिहीबार निर्वाचन कार्यक्रम तोकिए तापनि स्टक ब्रोकरहरुले एसोसिएसनको नयाँ कार्यसमितिका निम्ति सर्वसहमति जुटाएपछि सन्तोष मैनाली अब स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष हुने भएका हुन् । 

यसैगरी हालका महासचिव धर्मराज सापकोटा उपाध्यक्ष र हालका कोषाध्यक्ष गुणनीधि भुसाल महासचिव हुने सहमति भएको ब्रोकर स्रोतको भनाइ छ ।

स्टक ब्रोकर्स एसोसिएसनको नयाँ कार्यसमितिका अध्यक्ष सन्तोष मैनाली स्टक ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक हुन् । झापा स्थायी घर भएका मैनाली ब्रोकर इण्डष्ट्रीकै अध्ययनशील र असल व्यक्तित्वका रुपमा चिनिन्छन् ।

नवनियुक्त अध्यक्षसमक्ष ब्रोकर इन्डस्ट्रीको पेसागत सुरक्षाका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स र ब्रोकर कमिसन कटौती लगायतको चुनौतिपूर्ण अवस्था छ ।