काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विदेशमा काम गर्ने नेपालीका लागि आज साउन १ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। 

कम्पनीले विदेशमा काम गर्ने नेपालीका लागि ९ लाख ६० हजार कित्ता साधारण सेयरको प्राथमिक निष्कासन गरेको हो। इच्छुकले साउन १५ गतेभित्र कम्पनीको आईपीओ खरिदका लागि आवेदन दिइसक्नुपर्नेछ। 

यो जीवन बीमा कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। जारी पुँजीको ३० प्रतिशत अर्थात ९६ लाख कित्ता विदेशमा बस्ने नेपाली र सर्वसाधारणका लागि जारी गरिने कम्पनीले प्रकाशित गरेको विवरणपत्रमा उल्लेख छ। 

कुल जारी गरिने ९६ लाख कित्ता आइपीओको १० प्रतिशतले हुनआउने ९ लाख ६० हजार कित्ता विदेशमा काम गर्ने नेपाली नागरिकका लागि सुरक्षित गरिएको हो । बाँकी ८६ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि केही पछि निष्कासन गरिनेछ। 

यो कम्पनीले अंकित मूल्य रु. १०० मा रु. १३९ प्रिमियम थपेर कुल २३९ रुपैयाँ प्रतिकित्ताका दरले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ प्रिमियमका रुपमा उठाउने योजना बनाएको छ। 

यो कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।