– अर्जुन तिमिल्सिना

काठमाण्डौ । पछिल्लो केही समयदेखि जलविद्युत कम्पनीहरुका सेयरमूल्य पनि निकै बढेको छ। 

विद्युत नियमन आयोगले जारी गर्न लागेको नयाँ निर्देशिकामा बैंकको पुरानो ऋण तिर्न जलविद्युत कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिइने व्यवस्था गर्न लागेको छ। अर्कोतर्फ नयाँ आयोजना निर्माणका लागि पुँजी जुटाउन भन्दै केही कम्पनीहरुले धमाधम लाभांश घोषणासँगै हकप्रद जारी गर्ने निर्णय पनि गरिरहेका छन्। यिनै कारणले जलविद्युत कम्पनीहरुको सेयरभाउमा एकाएक उछाल आएको देखिन्छ।

बजार जानकारहरु भने हकप्रदको पछाडि दौडिएर लगानीकर्ताहरुले आधारभूत रुपमा कमजोर कम्पनीहरुको सेयर पैसा खन्याउँदा भविष्यमा जोखिम हुन सक्ने बताउँछन्। उनीहरुले आधारभूत पक्ष बलिया भएका कम्पनीमा लगानी गर्दा सुरक्षित हुने बताउँदै आएका छन्।

बजारमा जलविद्युतको सेयर आकर्षण बढिरहेकै बेला विद्युत नियमन आयोगले पनि एउटा सूचना जारी गर्दै लगानीकर्तालाई कम्पनीका आधारभूत पक्ष अध्ययन गरेरमात्र लगानी गर्न सचेत गराएको छ। योसँगै हिजो बिहीबार केही जलविद्युत कम्पनीहरुको सेयरभाउ घट्न पुग्यो। 

आयोगले जलविद्युत कम्पनीहरुको सेयरमूल्यमा भएको अस्वाभाविक वृद्धिलाई नजिकबाट हेरिरहेको जनाएको छ। आयोगका सूचना अधिकारी नुतनप्रकाश शर्माले हाल केही कम्पनीहरुले नयाँ आयोजना निर्माण गर्न आवश्यक पुँजी जुटाउन हकप्रद जारी प्रक्रिया अगाडि बढिरहेकोले त्यसलाई सम्बोधन गर्न केही न केही प्रक्रिया अगाडि बढाइने बताए। ‘सबै कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिनैपर्छ भन्ने छैन’, उनले भने, ‘कस्ता कम्पनीहरुलाई हकप्रद निष्कासनको अनुमति दिने भन्ने विषयमा निर्देशिकामार्फत सम्बोधन गरिनेछ।’

शर्माले जलविद्युत कम्पनीहरुमा देखिएको विकृति अन्त्य गर्न हालको ३ वर्षे लकिङ पिरियडलाई बढाउनुपर्ने आवश्यक औँल्याए। ‘कि भने जलविद्युत कमपनीहरुमा अहिलेका बैंक तथा फाइनान्सको जस्तै सेयर स्वामित्व अनुपात संस्थापक र सर्वसाधरणमा ५१ः४९ बनाउनुपर्ने देखिन्छ’, उनले भने।

यस विषयमा बजार नियामक नेपाल धितोपत्र बोर्डले पनि तदारुकता देखाउनुपर्ने शर्माको भनाइ छ। ‘यदि क्याप्टेनले उडिरहेको विमानको क्याबिन नै छोडर हिँडे भने दुर्घटना हुन सक्छ’, उदाहरण दिँदै उनले भने, ‘यसरी नै जलविद्युतका संस्थापकहरुले सबै सेयर स्वामित्व सर्वसाधारणलाई दिने हो भने कम्पनी डुब्न सक्छ।’ 

जलविद्युत कम्पनी भनेको प्राविधिक विषय पनि भएकोले सबै सेयर स्वामित्व सर्वसाधारणलाई नै दिने विषय उपयुक्त मान्न नसकिने शर्माको भनाइ छ। ‘यसले कम्पनीहरुको मनसाय सेयर बजारबाट मात्रै कमाउने हुन जान्छ’, उनले भने, ‘जलविद्युत कम्पनीहरुले बिजुली बेचेर कमाउने हो, सबै सेयर बेचेर कमाउने होइन। सर्वसाधरणमा सेयर जारी गर्न त उनीहरुलाई पुँजी जुटाउन दिएको सुविधा हो। तर धेरैजसो कम्पनीले यसको गलत फाइदा लिएका छन्।’ 

जलविद्युतका विषयमा ऊर्जा मन्त्रालयमा पनि राम्रोसँग गृहकार्य नभएको शर्माले बताए। शर्माले कतिपय कम्पनीले चाहिनेभन्दा बढी पैसा सर्वसाधारणबाट उठाएको पाइएको पनि बताए। ‘कसैले सतप्रतिशत आफ्नै लगानी गर्छ भने अलग विषय हो, सर्वसाधारणबाट पनि पुँजी संकलन गरेपछि जबाफदेही हुनैपर्छ’, उनले भने। 

शर्माले अब छिटै आयोगले निर्देशिका ल्याउन लागेको र सोही निर्देशिकामा लकिङ पिरियड र सेयर स्वामित्वका विषयमा सम्बोधन हुने बताए। 

खानीखोला जलविद्युतको चौथो त्रैमासिक वित्तीय विवरणका विषयमा पनि नियमन आयोगले चासो राखेको र रिपोर्ट मगाएको शर्माले बताए। अब प्रत्येक चौमासिक रुपमा विद्युत बेचेर आएको र आउने पुँजी छुट्टाएर हरेक कम्पनीको अवस्था सार्वजनिक गर्ने तयारी आयोगले गरिरहेको उनले जानकारी दिए।