काठमाण्डौ । काठमाण्डौका सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरी आन्दोलनरत लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालय छलफल चलिरहे पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ। यद्यपि सेयर कारोबार नगण्य मात्रामा भएको छ। 

गत बिहीबारदेखि पुँजीबजारमा लिइने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले आफूहरुलाई आयकरको दायरामा ल्याउन खोजेको उनीहरुको भनाइ छ। 

आन्दोलनरत लगानीकर्ताले आर्थिक विधेयक २०८०मा ल्याइएको करसम्बन्धी बुँदा नं. २९ खारेज हुनुपर्ने एकसूत्रीय माग राखेका छन्। उनीहरुले आज बिहानैदेखि कारोबार रोक्ने भन्दै ५० वटै ब्रोकर हाउसमा ताला पनि लगाए। तर, नेप्सेले भने कारोबार प्रणाली बन्द गरेको छैन। 

नेप्सेले कारोबार प्रणाली बन्द नगरे पनि यो समाचार तयार पार्दासम्म एउटा कम्पनीको २३ कित्ता सेयर ९ हजार ६६० रुपैयाँमा कारोबार भएको छ। 

उता लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल भइरहेको छ। 

नेप्सेका प्रवक्ता मुराहरी पराजुली माथिबाट आदेश नआईकन नेप्सेले कारोबार प्रणाली बन्द गर्न नमिल्ने बताए। ‘हामीले गत बिहीबार नै आन्दोलनरत लगानीकर्तालाई यसबारेमा अवगत गराएका थियौँ’, उनले भने, ‘उहाँहरुले ब्रोकर कार्यालयको सिस्टम र अफि बन्द गर्नुभएको छ। तर हामीले माथिबाट आदेश नआईकन बन्द गर्न मिल्दैन। त्यही भएर कारोबार प्रणाली सुचारु नै रहेको हो।’

कारोबार नगण्य भए पनि नेप्से सूचक ११ बजेर ४ मिनेट जाँदासम्म ०.६१ अंकको गिरावटका साथ १८६५.७३ को विन्दुमा झरेको छ।