काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले मंगलबार एक सूचना प्रकाशित गर्दै सेयर कारोबारका लागि सूचिकृत सबै कम्पनीहरुलाई असोज मसान्तभित्रमा नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । 

तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा त्यस्ता कम्पनीको सेयर कारोबार स्थगन हुने समेत नेप्सेले स्पष्ट पारेको छ । 
धितोपत्र कारोबार नियमावली–२०५० को अनुसूचि ९ बमोजिम सूचिकृत कम्पनीले चालु आर्थिक वर्षको वार्षिक सूचिकरण नवीकरण शुल्क प्रत्येक आबको असोज मसान्तभित्र बुझाउनुपर्ने नियम छ । 

नेप्सेले आफ्नो बैंक खाता नम्बर समेत उपलब्ध गराई समयमै नवीकरण शुल्क बुझाउन सम्बद्ध कम्पनीहरुलाई सूचित गरेको हो । 

नवीकरण शुल्कको दर समेत चुक्तापूँजी अनुसार तोकिएको छ । १ करोड रुपैयाँसम्म चुक्तापूँजी हुने कम्पनीका लागि १५ हजार, १ देखि ५ करोडसम्म हुनेका लागि २५ हजार, ५ करोडदेखि १० करोडसम्म चुक्तापूँजी हुने कम्पनीका लागि ३५ हजार र १० करोडदेखि माथि चुक्तापूँजी हुने कम्पनीका लागि ५० हजार रुपैयाँ वार्षिक नवीकरण शुल्क तोकिएको छ । 

सम्बन्धित सूचिकृत कम्पनीले आफ्नो चुक्तापूँजी अनुसार तोकिएको नवीकरण शुल्क ग्लोबल आइएमई बैंकको खाता नम्बर ७५०१०१००००७७५ मा रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ । 

नेप्सेको सूचनाको सबै व्यहोरा हेर्न यहाँ क्लिक गर्नुहोस् ।