काठमाण्डौ । टीएमएसमा समस्या आएपछि स्थगित गरिएको सेयर कारोबार अझै खुल्न सकेको छैन। 

बजार खुल्ने नियमित समय पनि सकिएको छ तर एटीएमएसमा देखिएको समस्या अझै हटेको छैन। 

नेपाल स्टक एक्सचेन्जले ब्रोकरको डाटा सेन्टरमा आएको समस्याले टीएमएस नचल्दा दिउँसो १२ बजेर ५३ मिनेटमा कारोबार स्थगन गरेको थियो। केही समयका लागि कारोबार स्थगित गरिएको र समस्या समाधान भएपछि सुचारु गरिने नेप्सेले जनाएको थियो। तर अहिलेसम्म समस्या समाधान हुन सकेको छैन। 

अब आजको कारोबार के होला ? भन्ने बिजशालाको जिज्ञासामा नेप्सेका सीईओ कृष्णबहादुर कार्की आफैँ अनभिज्ञ छन्। ‘समस्या समाधानका लागि कोसिसहरु भइरहेका छन्, समस्या समाधान भएपछि आजै बाँकी समयको कारोबार हुन्छ’, उनले भने। 

यदि आज समस्या समाधान नभए के हुन्छ ? भन्ने अर्को जिज्ञासामा सीईओ कार्की अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलगायत सबै पक्षसँग छलफल गरी निर्णय लिने बताए। ‘समस्या समाधान छिटै भएमा आजै बाँकी समय कारोबार चलाइनेछ, यदि कदथकदाचित आज बनेन भने सबै पक्षको छलफलबाट एउटा निर्णय लिने छौँ’, उनले भने। 

आजको बाँकी समयको कारोबार भोलि थप गर्न मिल्छ भन्ने जिज्ञासा सीईओ कार्कीले भने, ‘त्यस अहिले यही गर्न सकिन्छ भन्ने सकिँदैन। सबै कुरा छलफल गरी अगाडि बढ्छौँ।’