काठमाण्डौ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेड(एचआइडिसिएल)ले हकप्रद र लाभांशको सूचना चुहाएर दोश्रो बजारमा इन्साइडर ट्रेडिङ गरेको बिषयमा नेपाल स्टक एक्सचेञ्जले स्पष्टीकरण सोधेको छ । 

एचआइडिसिएलले संचालक समितिको निर्णय ढिलो सार्वजनिक गरेको र त्यसअघि नै बजारमा चलखेल गरेको समाचार बिजशालाले प्रकाशन गरेको थियो । समाचारलाई आधार बनाई नेप्सेले एचआइडिसिएललाई स्पष्टीकरण सोधेको नेप्से प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । 

'हामीले इन्साइडर ट्रेडिङ भएको भन्ने बिषयलाई आधार बनाई शीघ्र जवाफ पेश गर्न भनेका छौ ।' प्रवक्ता पराजुलीले भने-'उसले पेश गरेको जवाफको आधारमा के गर्ने भन्ने निर्णय होला ।' 

यसरी भएको थियो इन्साइडर ट्रेडिङ
यो कम्पनीबाट हकप्रद सम्बन्धी सूचना औपचारिक रुपमा जानकारीमा आउनुअघिदेखि नै चुहिएको थियो । जसका कारण यो कम्पनीको सेयरको भाउ एकाएक बढेको थियो । 

समयअघि नै सतप्रतिशत हकप्रद र ८ प्रतिशतसम्म नगद लाभांश दिने निर्णय हुँदैछ भन्ने सूचना दोश्रो बजारमा व्याप्त थियो । यही सूचनाका आधारमा एनआइडिसीएलको सेयर कारोबारमा राम्रै चलखेल भएको देखिएको छ । 

केही दिनदेखि बजारमा जे–जे सूचना सम्प्रेषण भई यो कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको थियो, सोमबार कम्पनीले तीमध्ये एउटा सूचनालाई पुष्टि गरिदिएको थियो । अर्थात, कम्पनीको संचालक समितिले औपचारिक रुपमा सोमबार मात्रै नेप्सेलाई सतप्रतिशत हकप्रद निश्कासनको निर्णय भएको जानकारी गराएको थियो । 

यो कम्पनीले बजारमा चलेको हल्लालाई सही साबित गर्दै १०० प्रतिशत हकप्रद निश्कासनको औपचारिक जानकारी दिइसकेको छ । अब ८ प्रतिशतसम्मको नगद लाभांश समेत वितरण गर्दैछ भन्ने हल्लालाई समेत उसका आगामी निर्णयले पुष्टि गर्ने स्रोतको भनाई छ । 

औपचारिक निर्णयअघि नै सूचना चुहाएर चलखेल गर्नेलाई अवसर दिएको कम्पनीले शुक्रबार भएको निर्णयलाई समेत लुकाएर सोमबार मात्र सार्वजनिक गरेको छ । यसबाट समेत थप इन्साइडर ट्रेडिङ भएको लगानीकर्ताको बुझाई छ । नेप्सेमार्फत सार्वजनिक हुनुअघि नै शुक्रबारको निर्णय चुहिएका कारण आइतबार यो कम्पनीले सबैभन्दा बढी कारोबार गरेको थियो । मूल्य समेत बढेर निकै माथि पुगेको थियो । गोप्य सूचना चुहाई सेयर मूल्य बढाएर सोमबार केही नाफा बुक गरी बिक्री गर्नेहरुको संख्या समेत निकै ठूलो देखिएको छ । यसरी सर्वसाधारण लगानीकर्तालाई फसाएर एनआइडिसीएलको नाममा यो पटक पनि गिरोहले राम्रै कमाई गरेको स्रोत दाबी गर्छ ।

चलखेलकै कारण आइतबार १७९ सम्म पुगेको कम्पनीको सेयर मूल्य घटेर सोमबार भने १ सय ७२ रुपैयाँमा सीमित बन्न पुगेको थियो । सोमबार यो समाचार तयार पार्दासम्म मूल्य घटेर १६७ सम्म झरेको छ । यसरी हेर्दा यो कम्पनीको सेयर उचालिएर किन्नेहरुले दुई दिनमै प्रतिसेयरमा १२ रुपैयाँ घाटा खाएका छन् ।   

यो कम्पनीको साउन ११ गते(शुक्रबार) बसेको १७० औं संचालक समितिको बैठकले आफ्नो उद्देश्य अनुसार कार्य गर्नका लागि आवश्यक पूँजी व्यवस्था गर्ने योजनाअनुसार हालको चुक्तापूँजीको सतप्रतिशत(१ बराबर १ को अनुपात)मा हकप्रद सेयर जारी गर्ने निर्णय गर्दै सो बिषय प्रस्तावको रुपमा आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ।

हाल यो कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । सतप्रतिशत हकप्रदपछि बढेर २० अर्बको उचाईमा पुग्नेछ । 

शुक्रबारको निर्णय आइतबार नेप्सेलाई जानकारी नगराई सोमबारसम्म अल्झाइनुले समेत नियतवश निर्णय सार्वजनिक गर्न ढिलाई गरी चलखेल गरिएको लगानीकर्ताहरुको आरोप छ । उनीहरुले यो कम्पनीले गरेको चलखेल र यसमा भएको मिलेमतोको बिषयमा छानबिन गर्न समेत आग्रह गरेका थिए ।