काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदनमार्फत दिएको सुधारका सुझाव कार्यान्वयनले सेयर बजारका लगानीकर्ताको मनोबल उच्च बनाइदिएको छ । 

नेपाल राष्ट्रबैंकले पूँजीबजारसँग सम्बन्धित सुझावहरुलाई कार्यान्वयन गर्दै सम्बद्ध निकायका नाममा निर्देशन जारी गरेपछि यसले बजारमा उछालको अवस्था आएको हो । 

यसअघि नेपाल राष्ट्रबैंककै दवाबमा बैंक तथा बित्तीय संस्थाहरु ब्याजदर बढाबढको दौडबाट बाहिरिँदै भद्र सहमति कायम गर्न बाध्य भएका थिए ।

ब्याजदर घटाउन केन्द्रीय बैंकले महत्वपूर्ण भूमिका खेलेपछि बजारमा केही सुधारका संकेतहरु देखिएका थिए । तर, अधिकांश लगानीकर्ता डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको कार्यदलले सुझाएका अन्य बुँदाको समेत कार्यान्वयनको प्रतिक्षामा थिए । प्रतिक्षाको घडी समाप्त पार्दै केन्द्रीय बैंकले ती सुझाव कार्यान्वयनको व्यवस्था गरिदिएपछि त्यसले बजारमा उत्साह ल्याएको हो । 

पूँजीबजार सुधारका लागि विज्ञबाट दिइएको सुझाव कार्यान्वयनसँगै सरकार, अर्थमन्त्री र अन्य सम्बद्ध निकाय समेत लगानीकर्ताहरुको लगानीप्रति चिन्तित छन् भन्ने कुरा समेत पुष्टि भएका कारण लगानीकर्ता उत्साहित देखिएका छन् । 

यहीकारण बुधबार नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२१६.२७ अंकको उचाईमा फर्किएको हो । यो दिन राम्रा कम्पनीको सेयरमा एकाएक खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ६.४१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लट इण्डेक्समा २.३८ अंकको बढोत्तरी भएको छ । 

यो दिन सबै समूहको सूचकमा हरियाली छाएको छ । जीवन बिमा समूहमा ७.७९ प्रतिशत(४४३.५ अंक) र व्यापार समूहमा ६.०५(१३.६९ अंक) प्रतिशतको उछाल देखिएको छ । 

यस्तै, बैंकिङ समूह १८.५४ अंकले बढेको छ भने विकास बैंक, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहमा क्रमशः २०.६९, ५०.२१ र २४५.०६ अंकको बढोत्तरी भएको छ । 

होटल समूह ६५.६२ अंकले बढेको यो दिन जलविद्युत समूहमा १९.३४, बित्त समूह ८.१२, उत्पादनमूलकमा १९.२ र अन्य समूहमा १५.८७ अंकको बढोत्तरी भएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ह्वात्तै बढेको छ । बजारमा १ सय ७३ कम्पनीका १९ लाख १ सय ३ कित्ता सेयर ६९ करोड २६ लाख २३ हजार ७ सय ४६ रुपैयाँमा किनबेच भएको छ । 

नेपाल बैंकले सबैभन्दा बढी ४ करोड ३६ लाख बढीको कारोबार गरेको छ । यो दिन नेशनल लाइफ इन्स्योरेन्सले २ करोड ७० लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख, ग्लोबल आइएमई बैंकले २ करोड ३१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकलै २ करोड २४ लाख, प्रभू बैंकले २ करोड २१ लाख, एनसीसी बैंकले २ करोड १६ लाख, एनएमबी बैंकले १ करोड ९१ लाख, प्राइम कमर्सियल बैंकले १ करोड ८७ लाख र लुम्बिनी जनरल इन्स्योरेन्सले १ करोड ८० लाख बढीको कारोबार गरे।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन चारवटा कम्पनीको सेयर मूल्यमा उछाल आउँदा पोजिटिभ सर्किट लाग्यो । नागरिक लगानीकोषको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, विशाल बजार कम्पनी, प्रूडेन्सियल इन्स्योरेन्स र मल्टि पर्पोज फाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले समेत कुस्त कमाए । नेपाल लाइफको मूल्य ९.४५ प्रतिशत र नेशनल लाइफको मूल्य ९.१९ प्रतिशतले वृद्धि भयो । 

यो दिन गण्डकी विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।