काठमाण्डौ । समृद्धि फाइनान्स लिमिटेडले आफ्ना आधारभूत सेयरधनी र सञ्चालकहरुलाई हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २ः१ अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरले हकप्रद सेयर खरिदका लागि रकम जम्मा गर्न आधारभूत सेयरधनी र सञ्चालकहरुलाई आग्रह गरेको हो। आधारभूत सेयरधनी भन्नाले हाल कायम चुक्तापुँजी ५४ करोड ५९ लाख ४०९ कित्ता सेयर संख्याको १ प्रतिशतले हुन आउने ५४ हजार ५९५ कित्ता सेयर वा सोभन्दा बढी सेयर लिएका सेयरधनी भन्ने बुझिन्छ। 

नेपाल धितोपत्र बोर्डले समृद्धि फाइनान्सलाई गत मंसिर २९ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत पुस ११ गते एक दिन बुक क्लोज गरेको थियो। 

त्यसैले पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम आधारभूत सेयरधनी र सञ्चालकले हकप्रद सेयर खरिदका लागि आउँदो माघ ५ गतेदेखि माघ १२ गते बैंकिङ समयसम्म आफूले लिनुपर्ने हकप्रद सेयरबराबरको रकम समृद्धि फाइनान्सको खातामा रकम जम्मा गर्न कम्पनीले आग्रह गरेको छ। 

यसका साथै विस्तृत जानकारीका लागि निष्कासत कम्पनी वा निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलको काठमाण्डौको नक्सारस्थित नारायणचौरमा रहेको कार्यालयमा सम्पर्क गर्न पनि कम्पनीले आग्रह गरेको छ।