काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज फागुन २९ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत फागुन ८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। यो हकप्रदमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ। 

कम्पनीले २ः१ अनुपातमा १०० अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि निष्कासन गरेको छ। यो हकप्रदमा सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। 

यसैगरी समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय मकवानपुरको हेटौँडा तथा शाखा कार्यालयहरु बुटवल, पोखरा, नारायणघाट र काठमाण्डौबाट पनि आवेदन दिन सकिन्छ। बीओके क्यापिटलको काठमाण्डौको नक्सारस्थित नारायणचौरमा रहेको कार्यालयबाट पनि आवेदन दिन सकिन्छ। 

हकप्रद सेयर निष्कासन गर्नका लागि कम्पनीले गत पुस ११ गते १ दिनका लागि बुक क्लोज गरेको थियो। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य भएका छन्। 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ९० लाख रुपैयाँ पुग्नेछ। 

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर २९ गते निष्कासनको अनुमति दिएको थियो।