काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी नियमावलीको मस्यौदामाथि छलफल भएको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेटमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीका अन्य वैकल्पिक उपकरणको व्यवस्था गरी निजी लगानी प्रवर्द्धन गर्ने कार्यक्रम रहेको छ। सोसम्बन्धी नियमावली तर्जुमा गरी पेस गर्ने निकायका रुपमा धितोपत्र बोर्डलाई जिम्मेवारी तोकिएको छ। 

सोही पृष्ठभूमिमा धितोपत्र बोर्डले तयार गरेको सम्मिश्रित वित्त व्यवस्था तथा नियमावलीको मस्यौदा सम्बन्धमा सम्बन्धित निकाय तथा सरोकारवालासँग रायसुझाव लिने उद्देश्यले आज भर्चुअल माध्यमबाट सरोकारवालासँग छलफल गरेको हो। छलफलमा सरोकारवालाहरुले आआफ्नो रायसुझाव पेस गरेका थिए। 

छलफलमा धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नेपाल सरकारको पुँजी बजारसम्बन्धी विषयको सल्लाहकार तथा पुँजी बजारको नियामक निकायको भूमिका बोर्डले निर्वाह गर्नुपर्ने परिप्रेक्ष्यमा नेपाल सरकारको नीति तथा कार्यक्रमअनुरुप यस विषयलाई अगाडि बढाइएको व्यहोरा स्पष्ट पारे। उनले सम्मिश्रित वित्त एउटा नयाँ धारणा तथा पद्धतिका रुपमा विकास भएको र यसका माध्यमबाट दिगो विकासको लक्ष्य हासिल गर्न निजी पुँजी प्रवाहमा गतिशिलता आउने तथा निजी क्षेत्रलाई लगानीको नयाँ अवसर प्राप्त हुने धारणासमेत राखे। 

छलफलमा धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक विनयदेव आचार्यले कार्यक्रमबारे प्रकाश पारेका थिए। छलफलमा सम्मिश्रित वित्तसम्बन्धी विज्ञ प्राडा अच्युत वाग्लेले सम्मिश्रित वित्तसम्बन्धी धारणा, अन्तराष्ट्रिय अभ्यास र नेपालको सन्दर्भसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। 

धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीले सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी प्रस्तावित नियमावलीको व्यवस्थासम्बन्धी प्रस्तुति दिएका थिए। कार्यपत्र प्रस्तुतिकरण पश्चात् भएको छलफल कार्यक्रममा सहभागीहरुबाट आएका जिज्ञासाहरु कार्यक्रमका प्रस्तोता तथा सम्बन्धित विषयका विज्ञ अमृत खरेल र जोसेफ सिल्भानुसले सम्बोधन गर्दै सम्मिश्रित वित्तका सम्बन्धमा अझ प्रकाश पार्नुभएको थियो । 

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाललगायतको पनि सहभागिता थियो।