काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज असार २४ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत असार २ गतेबाट आईपीओ निष्कासन गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ। 

कम्पनीले आयोजना प्रभावित बागलुङ जिल्लाका ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा बसोबास गर्ने बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो। कम्पनीले स्थानीयलाई १०० अंकित दरका ३ लाख कित्ता आईपीओ बिक्री खुला गरेको छ। 

यो आईपीओमा स्थानीय न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। स्थानीय प्रभु बैंकको ताराखोला शाखा र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयलाई आवेदन संकलन केन्द्र तोकिएको छ।

सयपत्री हाइड्रोपावरको आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत जेठ १८ गते निष्कासन अनुमति दिएको थियो।