काठमाण्डौ । सरकार परिवर्तनको खेलको प्रभाव बुधबारको पूँजीबजारमा पुनः देखिएको छ । 

मंगलबारबाट सरकार परिवर्तनको खेलको सोझो प्रभावले गिरावटको यात्रा भोगिरहेको पूँजीबजारमा बुधबार पनि ओरालो यात्रा नै तय गर्यो । 

सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरुले सेयर खरीदमा अनिच्छा देखाएपछि बुधबार नेप्से परिसूचक२.६४ अंकले घट्दै १६९०.४३ अंकमा झरेको हो । 

नेप्से परिसूचक १७४० अंकमा पुगे पनि पछिल्लो समय नियमित रुपमा बजार झरिरहेको छ । मौद्रिक नीतिको पर्र्खाई र सरकार परिवर्तनको अभ्यासको सोझो प्रभाव सेयर बजारमा परेको हो । 

बुधबार सबैभन्दा धेरै बिमा समूहको परिसूचक ८९.५८ अंकले घट्यो । अरुबेला बजारलाई उचाल्न महत्वपूर्ण भूमिका खेल्ने वाणिज्य बैंक र विकास बैंक समूह पनि क्रमशः ४.०२ र ११.३३ अंकले घटे । 

जलविद्युत समूहमा ६.५१ अंकको गिरावट देखियो भने बित्त समूह ८.०२ अंकले घटेको छ । 

होटल, उत्पादनमूलक र अन्य समूह भने हरियो भएका छन् । सबैभन्दा धेरै होटल समूहको परिसूचक ३९.१ अंकले उक्लिएको छ भने उत्पादनमूलक ३३.९६ र २१.९८ अंकले बढेका छन् । 

बुधबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः १.२५ र ०.२६ अंकले घटेको छ । 

कुल १ सय ४३ कम्पनीका १९ लाख ६६ हजार कित्ता सेयर १ अर्ब ९ करोडमा किनबेच भयो । 

सबैभन्दा धेरै तारागाउँ रिजेन्सी होटलको १८ करोड ४९ लाखको सेयर किनबेच भयो । यसैगरी, जनता बैंक नेपाल लिमीटेडको ६ करोड २७ लाख, शिखर इन्स्योरेन्सको ३ करोड ५० लाख, एभरेष्ट बैंकको ३ करोड ४८ लाखको सेयर किनबेच भयो । सिटिजन्स बैंक इन्टरनेशनलको ३ करोड १७ लाख बराबरको प्रोमोटर सेयर किनबेच भयो भने माछापुच्छ्र्र बैंक लिमीटेडको ३ करोड १० लाख बराबरको सेयर खरीदबिक्री भयो । धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा बुधबार वाणिज्य बैंकहरुकै बर्चश्वर रह्यो ।