काठमाण्डौ । सरकारको चालु खाता र शोधानान्तर स्थितिमा रहेको घाटामा अझै उल्लेख्य सुधार हुन सकेको छैन । 

नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक परिदृश्यको समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकारको चालु खाता र शोधानान्तर स्थिति घाटामा रहेको बताएको हो ।

केन्द्रीय बैंकका अनुसार २०७३ पुसदेखि घाटामा रहदै आएको चालू खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती थपेको छ । अघिल्लो वर्षको नौ महिनामा चालू खाता रु. १० अर्ब ३४ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई रु. १७१ अर्ब ६४ करोड पुगेको हो । 

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खाता उच्च घाटा भएको हो । फलस्वरुप, अघिल्लो वर्षको नौमहिनामा रु. ५० अर्ब ६० करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु. १४ अर्ब ६० करोडले घाटामा रहेको छ । मुलुकमा भित्रिने रकम भन्दा बाहिरिने रकम बढी हुँदा शोधानान्तर घाटा हुन्छ ।  

समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु. १४ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु. ११ अर्ब ७ करोड रहेको थियो ।

विदेशी विनिमय सञ्चितीमा पनि ह्रास
२०७४ असार मसान्तको रु. १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति २०७४ चैत मसान्तमा १.४ प्रतिशतले ह्रास भई रु. १०६४ अर्ब ३७ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु. ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ चैत मसान्तमा २.८ प्रतिशतले वृद्धि भई रु. ९५३ अर्ब २६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु. १५२ अर्ब १७ करोड रहेकोमा २०७४ चैत मसान्तमा २७ प्रतिशतले कमी आई रु. १११ अर्ब ११ करोड पुगेको छ । 

२०७४ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । 

सञ्चिति पर्याप्तता सूचकहरू आर्थिक वर्ष २०७४/७५ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५.४ प्रतिशत, ८०.५ प्रतिशत र ३७ प्रतिशत रहेका छन् । २०७४ असार मसान्तमा यस्ता अनुपातहरू क्रमशः ४०.८ प्रतिशत, ९५.२ प्रतिशत र ४१.६ प्रतिशत रहेका थिए ।