काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर बजार र घरजग्गा नेपालका लागि नचाहिने क्षेत्र हो भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गरेका छन्। 

महासंघले बिहीबार राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भने, ‘राष्ट्र बैंकले बेला–बेला ल्याउने सर्कुरलका कारण निजी क्षेत्रको उत्साहमा ह्रास आएको छ। हिजोका दिनमा कुल ग्रार्हस्थ उत्पादनको ९० प्रतिशत कर्जा गएको र यसको समुचित उपयोग नभएको आरोप निजी क्षेत्रमाथि थोपरिएको छ। लोन सहजै पाउँदा व्यवसायीले पनि सहजै खर्च गरे होलान्। के यसमा व्यवसायीको मात्रै दोष छ त ? त्यसरी प्राप्त सहज लोन सेयर बजार, घरजग्गा र व्यापारमा मात्रै लगानी भयो भने गुनासो सुनिन्छ । के यी क्षेत्र नचाहिने नै हो ? यी क्षेत्रको अर्थतन्त्रमा कुनै योगदान नै छैन ?’

अध्यक्ष ढकालले सेयर बजारलाई लक्षित गरेर केन्द्रीय बैंकले लिने गरेको नीति गलत रहेको टिप्पणीसमेत गरे। हालसालै राष्ट्र बैंकले ल्याएको संशोधित एकीकृत निर्देशनलाई टालटुले नीतिको संज्ञा दिँदै उनले भने, ‘सेयर बजार लक्षित केन्द्रीय बैंकको नीति सही छैन। यस्तै टालटुले नीति लिइरह्यौँ भने हामी अझै अप्ठेरोमा पर्ने छौँ।’

कर्जाको सहज अवस्था हुँदा अन्य क्षेत्रमा लगानीको अवसर नपाएपछि सेयर र घरजग्गामा बढी लगानी हुनु स्वभाविक रहेको उनको तर्क छ। हाल बैंकिङ प्रणाली ५ खर्ब लगानीयोग्य रकम थुप्रिएको, विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च कायम भएको, रेमिट्यान्स पनि हालसम्मकै उच्च रहेको उल्लेख गर्दै उनले तर यी सकारात्मक सूचकका बाबजुद बजारको माग नबढेको बताए। ‘हालको सर्वसाधारणको अर्थतन्त्रप्रतिको विश्वास गुमिरहेको छ, बजारभाउ लगातार बढिरहेको छ’, उनले भने, ‘यसमा सरकारको प्रभावकारी हस्तक्षेप आवश्यक छ।’

२०४८ सालमा ल्याइएको अर्थतन्त्र सुधार नीति नै अब काम नगर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले प्रधानमन्त्री अध्यक्ष रहने गरी उच्चस्तरीय सुधार आयोग वा त्यस्तै कानुनी हैसियत भएको उच्चस्तरीय संयन्त्र गठन गर्न पनि माग गरे। प्रधानमन्त्री अध्यक्ष हुने सो संयन्त्रमा निजी क्षेत्रका प्रतिनिधिहरुलाई सदस्य बनाइनुपर्ने र राष्ट्र बैंक, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र योजना आयोगलाई त्यसमै राखिनुपर्ने उनले सुझाव दिए। 

नेपालको निजी क्षेत्र निकै बलियो रहेको दाबी गर्दै यसको मनोबल बढाउनमा उनको जोड थियो।