काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले अपेक्षाअनुसार ब्याजदर नघटाएपछि यसले सेयर लगानीकर्तालाई निराश बनाइरहेको छ । नेपाल राष्ट्रबैंकको कडा निर्देशन तथा गभर्नरको चेतावनीको बाबजुद बैंकहरुले ब्याजदर घटाउन मानिरहेका छैनन् । यसको सोझो असर सेयर बजारमा परेको देखिएको छ । यहीकारण बजार पुनः दैनिकजसो घट्न थालेको छ । 

अर्कोतर्फ, बजारमा हाबी बैंकिङ समूहका सूचिकृत कम्पनीहरुमध्ये अधिकांशको चुक्तापूँजी पुगिसकेकोले बोनस सेयरभन्दा नगद लाभांशमै जोड दिन्छन् भन्ने प्रचारबाजीले समेत लगानीकर्ता हतोत्साही भएका देखिएको छ । 

विश्लेषकहरुले पाकेको बाली भित्र्याउने समयमा सेयर किन्न छाडेर बिक्री गर्नतर्फ लगानीकर्ता लागेको बिषयलाई उल्टो बुद्धि र उल्टो बाटोको यात्रासम्म भन्न भ्याएका छन् । उनीहरुका अनुसार बाली पाकेको बेलामा राम्रा कम्पनीको सेयर छानी छानी किन्नुपर्नेमा अनेकन हल्लाको पछाडि दौडिएर लगानीकर्ताले गलत गरिरहेका छन् । उनीहरुले लाभांश घोषणाको समय सुरु भइसकेकोले बलियो बित्तीय अवस्था भएका कम्पनी छानेर लगानी बढाउन पनि आग्रह गरेका छन् ।

अर्कोतर्फ, बजारमा लगानी गर्दै आएका केही ठूला लगानीकर्ता भने सरकारको कर नीति तथा बजार नीतिको गलत रबैयाबाट सशंकित छन् । उनीहरुले बोनस र हकप्रद सेयरको आधारमूल्यमै पूँजीगत लाभकर लगाउने आन्तरिक राजश्वको स्थगित सर्कुलरको बिषयमा सरकारले समयमै निश्कर्ष दिन नसकेको र यसबाटै पनि सरकारको बजारप्रति धारणा र गाम्भीर्यता कस्तो छ भन्ने देखिएकोले तत्काल बजार प्रवेश गर्ने मूड बनाएका छैनन् । 

यिनै कारणले बजार पुनः निरन्तर घट्न थालेको छ । मंगलबार नेप्से परिसूचक ४.१८ अंकले घटेर ११८३.८९ अंकको विन्दूमा सीमित हुन पुगेको हो ।

यो दिन ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिएको छ, यहीकारण सेन्सेटिभ इण्डेक्स ०.८३ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३४ अंकको गिरावट देखिएको छ । 

यो दिन ४ वटा समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ । 

व्यापार समूह २.९५ अंकले बढेको यो दिन जलविद्युत समूह ०.५६ अंकले बढ्यो भने निर्जीवन बिमा समूह ४.४७ अंक र अन्य समूह १.४१ अंकले बढेको छ । 

यो दिन बैंकिङ समूह ५.४१ अंक, होटल समूह ८.७६ अंक, विकास बैंक समूह ३.१८ अंक, बित्त समूह २.९४ अंक, उत्पादनमूलक २२.८५ अंक, माइक्रोफाइनान्स समूह १०.३३ अंक र जीवन बिमा समूह ०.५१ अंकले घटेको छ ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा कारोबार रकम पनि घटेको छ । १ सय ६१ कम्पनीका ५ लाख ७० हजार १ सय ७३ कित्ता सेयर १७ करोड ९५ लाख ५८ हजार ९ सय ३० रुपैयाँमा किनबेच भएको छ । 

यो दिन सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले १ करोड १६ लाख बढीको कारोबार गरेको छ । यो दिन प्रिमियर इन्स्योरेन्सले ७३ लाख, प्रभू इन्स्योेरेन्सले ७१ लाख, एनएलजी इन्स्योरेन्सले ५९ लाख, इन्भेष्टमेन्ट बैंकले ५३ लाख, चिमिले हाइड्रोले ५२ लाख, नवील बैंकले ४६ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४५ लाख, सिटिजन्स बैंकले ४४ लाख र नेपाल बैंकले ४२ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन र सिन्धु विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । साल्ट ट्रेडिङको मूल्य ४.८३ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ४.३१ प्रतिशतले वृद्धि भयो । 

यो दिन गोर्खाज फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.५४ प्रतिशतले घट्यो । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.४४ प्रतिशतले सम्पत्ति गुमाए।