काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको नियमलाई संसोधन गर्ने निश्कर्षमा पुगेको छ । 

प्रिओपन सेसनमा रहेको व्यवस्थाका कारण समग्र सर्किट ब्रेकर प्रणाली नै अव्यवहारिक बनेको व्यापक गुनासो बढेपछि नेप्सेले आन्तरिक रुपमा एक अध्ययन कमिटी बनाएको थियो । सो कमिटीको सिफारिसमा सर्किट ब्रेकर सम्बन्धी व्यवस्था परिमार्जन हुन लागेको हो । 

आज(सोमबार) साँझ बस्ने नेप्सेको संचालक समितिको बैठकले अध्ययन समितिको सिफारिसलाई आधार बनाई सर्किट ब्रेकर सम्बन्धी व्यवस्था परिमार्जनको निर्णय गर्नेछ । 

हाल विहान १०ः३० बजेदेखि १०ः४५ बजेबीचमा कुनै एक कम्पनीको शेयरमूल्य पाँच प्रतिशतसम्म तलमाथि गरेर किनबेच गर्न सकिने ब्यवस्था रहेको छ । कुनै कम्पनीको शेयर मूल्य पाँच प्रतिशतले बढाएर किनबेच गर्दा नियमित कारोबारका लागि बजार खुल्दा चार प्रतिशतको सर्किट लागेर बजार प्रभावित हुने गरेको छ ।

प्रिओपन सेसनमा ५ प्रतिशत मूल्य घटाएर किन्दा नियमित कारोबार सेसनमा बिक्री गर्ने आदेश नै राख्न नमिल्ने वा बिक्रेता नै नआउने अवस्था समेत बनेको भन्दै लगानीकर्ताबाट व्यापक गुनासो आइरहेको छ । यसलाई सम्बोधन गर्न पनि नेप्सेले सर्किट ब्रेकरको हालको व्यवस्थामा परिवर्तन गर्न खोजेको हो । 

हाल सेयर बजारमा नियमित कारोबार सुरु भएको पहिलो घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशत घटबढ भएमा २० मिनेटका लागि कारोबार स्थगित हुने व्यवस्था छ । त्यसपछि खुल्ने बजारमा दोश्रो घण्टाभित्र ५ प्रतिशतले नेप्से घटबढ भएमा दोश्रो सर्किट लगाई ४० मिनेट कारोबार स्थगित गर्ने गरिन्छ ।

त्यसपछि सुचारु हुने बजार परिसूचक ६ प्रतिशत घटबढ भएमा सो दिनका बाँकी अवधिको सबै कारोबार स्थगन गर्ने व्यवस्था छ । प्रिओपन सेसनका कारण यो व्यवस्था चाँडो प्रभावित भई बजारमा चाँडो चाँडो सर्किट लगाउनुपर्ने अवस्था बनेपछि यसमा रिभ्यू गर्न खोजिएको हो । 

नेप्सेको अध्ययन समितिले २ खालको सर्किट ब्रेकरको विकल्प समेत सुझाएको छ । 

पहिलो विकल्प–हाल कायम ४, ५ र ६ प्रतिशतको सीमालाई केही बढाउने । अन्तिम निश्कर्षको रुपमा यसलाई ४, ६ र ८ प्रतिशत बनाउन सकिने निश्कर्ष निस्किएको नेप्सेस्थित उच्च स्रोतले जनाएको छ । यसअघि ६, ८ र १० को विकल्पमा छलफल भए पनि यसले बजारमा अस्वभाविक प्रभाव पार्नसक्ने भन्दै त्यसलाई घटाएर ४, ६ र ८ बनाइएको हो । सर्किट ब्रेकरको यही विकल्प संचालक समितिबाट पारित हुने प्रवल संभावना छ । यसो भयो भने अब बजार खुलेको १ घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटबढ भएमा पहिलो सर्किट ब्रेकर लागी २० मिनेट कारोबार स्थगित हुनेछ । 

त्यसपछि खुलेको बजारमा दोश्रो घण्टाभित्र ६ प्रतिशतले नेप्से घटबढ भए दोश्रो सर्किट लगाई ४० मिनेटका लागि कारोबार स्थगन गरिनेछ । त्यसपछि खुलेको बजारमा यदि ८ प्रतिशतको घटबढ भयो भने सो दिनको बाँकी अवधिको कारोबार समेत स्थगित गरिनेछ । 

तर, नेप्सेको अध्ययन समितिले अर्को विकल्प पनि सिफारिस गरेको छ । प्रिओपन सेसनमा कायम भएको कुनै पनि कम्पनीको मूल्यलाई एलटिपी(अन्तिम कारोबार मूल्य) मानेर गणना गर्ने र बजार सुचारु भएपछि सोही मूल्यका आधारमा हाल कायम सर्किट ब्रेकरको नियम नै लगाउने । यो व्यवस्था लागू भएमा प्रिओपन सेसनमा भएको मूल्य घटबढले अहिलेको सर्किट ब्रेकरको नियम प्रभावित हुँदैन । तर, दोश्रो विकल्पमा निर्णय हुनसक्ने संभावना न्यून रहेको स्रोत बताउँछ ।