काठमाण्डौ । बजार बलियो बन्न थालेको छ । मंगलबार पनि नेप्से परिसूचक बढेको छ भने कारोबार रकम ५२ करोड माथि पुगेको छ। सोमबारको तुलनामा कारोबार रकम केही थोरै भए पनि समग्रमा यसलाई राम्रै अवस्था मान्न सकिन्छ ।

बजारलाई दैनिकजसो कारोबार रकमको दरिलो साथ मिल्नुको अर्थ ठूला लगानीकर्ताको समेत बजारमा प्रवेश सुरु भएको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् । यो दिन बजार अझै बढ्ने अवस्था रहे पनि सर्टटर्म कारोबारीहरुले थोरै नाफा बुक गर्ने पुरानो प्रवृति दोहोर्याउँदा अपेक्षित सुधार भने हुन नसकेको लगानीकर्ताहरु बताउँछन् । 

पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको काम लगभग सकिएको समाचार, बैंकरका नेताहरुले असोजदेखि ब्याजदर घट्छ भनी दिएको अभिव्यक्ति, लगानीकर्ताका विभिन्न संघ संगठनले सरोकारवाला निकायमा जारी राखेका दौडधूप र पछिल्लो समय बजार सुधारका लागि अर्थमन्त्री डा.युवराज खतिवडा केही लचक बन्दै गरेका खबरहरुले सेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको हो ।

मंगलबार नेप्से परिसूचक ३.९८ अंकले बढेर १२१०.२४ को विन्दूमा पुगेको छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.९९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.३३ अंकको बढोत्तरी भयो । 

यो दिन ४ समूहको परिसूचक घट्यो भने बाँकी सबै समूहको परिसूचक बढ्यो । 

जलविद्युत समूह ९.८ अंकले घटेको यो दिन उत्पादनमूलक समूहमा ०.७८, माइक्रोफाइनान्स समूहमा ०.२३ र जीवन बिमा समूहमा ०.५४ अंकको गिरावट आयो । 

यो दिन बैंकिंग समूह ६.०४ अंकले बढ्यो भने होटल समूह १६.०९, विकास बैंक समूह ६.३६, बित्त समूह ०.१९, निर्जीवन बिमा समूह २.३ र अन्य समूह ०.९५ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ७२ कम्पनीका १७ लाख ५५ हजार ५ सय ८७ कित्ता सेयर ५२ करोड १९ लाख २२ हजार ५ सय ७२ रुपैयाँमा किनबेच भए । 

सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १० करोड १७ लाख बढीका संस्थापक सेयरको कारोबार भयो । 

यसैगरी, एनआइसी एशियाले ३ करोड ३७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड, लक्ष्मी बैंकले २ करोड ९५ लाख, कुमारी बैंकले २ करोड ४८ लाख, एनएमबी बैंकले २ करोड ४१ लाख, सिभिल बैंकले १ करोड ५२ लाख, प्राइम कमर्सियल बैंकले १ करोड १० लाख, जनता बैंक नेपालले १ करोड र मेगा बैंकले ९० लाख माथिको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा काबेली विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.२६ प्रतिशतले वृद्धि भयो । यो बैंकले घोषणा गरेको आकर्षक लाभांशको सकारात्मक प्रभाव मंगलबार समेत कायमै रहेको देखियो । 

एभरेष्ट बंैकको कन्भर्टेड प्रिफरेन्स सेयरको मूल्य ८ प्रतिशतको हाराहारीमा बढ्यो । 

यो दिन अरुण काबेली पावर लिमीटेडका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।